काठमाडौँ, १३ जेठः नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीले यही जेठ १५ गते मनाउन लागिएको गणतन्त्र उत्सव कसैको विरोध लक्षित नभएको बताउनुभएको छ ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पार्टीका विभागका सदस्यहरुको विस्तारित भेलालाई सम्बोधन गर्दै उहाँले गणतन्त्र नेपाली जनताको सबैभन्दा ठूलो उत्सव भएकाले जनताको विजयका रुपमा मनाउन लागेको जानकारी दिनुभयो ।
“जनताको बलिदानी सङ्घर्षबाट प्राप्त लोकतन्त्र, गणतन्त्र जोगाउन जनताले यो दिन हाम्रो दिन हो भन्ने अनुभूति दिलाउन पनि एमालेले उत्सवका रुपमा झाँकीसहित मनाउन लागेको हो”, उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले गणतन्त्र–लोकतन्त्रको बारेमा विद्यालय तहको पाठ्यक्रममा राख्न आवश्यक रहेको बताउनुभयो । उहाँले गणतन्त्रपछि जन्मिएका युवाले बलिदानीपूर्ण सङ्घर्षबाट लोकतन्त्र–गणतन्त्र स्थापना भएको हो भन्ने जानकारी दिन पनि विद्यालय शिक्षामै लोकतन्त्र र गणतन्त्रबारे पढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राष्ट्रिय स्वाधीनता र रक्षाका लागि सबैभन्दा लड्ने पार्टी एमाले भएका कारणसबैभन्दा बढी प्रहार एमालेमाथि नियोजित ढङ्गले भइरहेको उहाँको भनाइ छ ।