05/29/2025, 18:42:58

बाह्र वर्षीया प्रदिप्ता बडूको ‘डेड अर अलाइभ’ उपन्यास सार्वजनिक


काठमाडौँ, १३ जेठ : बाह्र वर्षीया प्रदिप्ता बडूले अङ्ग्रेजी भाषामा लेख्नुभएको ‘डेड अर अलाइभ’ नामक उपन्यास सार्वजनिक भएको छ । भाषा आयोगका पूर्वअध्यक्ष प्राडा लवदेव अवस्थीले एक कार्यक्रमबीच उक्त कृतिको विमोचन गर्नुभएको हो ।

पाठशाला फाउन्डेशन नेपालमा कक्षा ८ मा अध्ययनरत प्रदिप्ताको उक्त उपन्यास आवरण प्रकाशनले प्रकाशित गरेको हो । सो उपन्यास लेखिका बडूले कोभिड–१९ को समयमा भोगेको अनुभूतिमा आधारित सचित्र अध्याय पुस्तक हो । सो अवसरमा प्राडा अवस्थीले कोभिड–१९ को बेला बाल मस्तिष्कले भोगेको कटु अनुभवलाई प्रदिप्ताले कलात्मक तरिकाले प्रस्तुत गर्नुभएको र उहाँमा प्रतिभाको प्रवाह प्रचुर रहेको बताउनुभयो ।

बाल साहित्य समाजका अध्यक्ष विजयराज आचार्यले देशका कुनाकुनामा रहेका बाल प्रतिभाको खोजी गरी अगाडि ल्याउनुपर्नेमा जोड दिनुभयो । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष अनन्त वाग्लेले उपन्यासमा साहसिक यात्रा, मानवीय समवेदना र स्वैरकल्पनाको सुन्दर मिश्रण रहेको बताउनुभयो । आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले प्रदिप्तामा अद्वितीय लेखन कलाको क्षमता रहेको विचार राख्दै उहाँलाई प्रकाशकका तर्फबाट प्रशंसापत्र प्रदान गर्नुभयो ।

क्याप्टेन वेद उप्रेतीले प्रदिप्ता सुन्दर सुदूरपश्चिमबाट फक्रेकी बालप्रतिभा भएको बताउनुभयो । कृतिकारका पिता कैलाश बडूले छोरी सानैदेखि भावुक स्वभावकी र आँटेको कुरा गरेरै छाड्ने आँटिली भएको बताउनुभयो । पाठशाला नेपाल फाउन्डेशनका संस्थापक इश्वरमणि अधिकारीले आफ्नो विद्यालयमा प्रदिप्ताजस्ता बाल प्रतिभा हुनुले विद्यालयको गरिमा बढाएको विचार राख्नुभयो । साहित्यकार जया बुढाथोकीले उपन्यास निकै पठनीय भएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक विश्वनाथ कँडेलले प्रदिप्ता अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताउनुभयो ।

उपन्यासकार प्रदिप्ताले आफ्नो लेखकीय अनुभूति सुनाउँदै पहिलो कृति बुबा कैलाशको जन्मदिनमै उपहार दिन पाएकामा गौरवको अनुभूति मिलेको बताउनुभयो । साहित्यकार एवं कृतिकारकी हजुरआमा हेमन्ती जोशीले नातिनीले आफ्नै पदचिन्ह पच्छ्याउँदै साहित्यिक यात्रा सुरु गरेकामा खुशी व्यक्त गर्नुभयो । बीस खण्डमा विभक्त उक्त उपन्यासमा अक्रिनको कलाकारिता रहेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ