05/25/2025, 16:45:32

‘विपद् न्यूनीकरणका लागि ललितपुर महानगरले उपलब्धिमूलक काम गरिरहेको छ’


पाटन (ललितपुर), ११ जेठः ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद्का क्षेत्रमा ललितपुर महानगरले उपलब्धिमूलक काम गरिरहेको बताउनुभएको छ ।
राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणको आयोजना, ललितपुर महानगरको समन्वय र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको सहकार्यमा आज ललितपुर नगरप्रहरी बलको कार्यालयमा भएको विपद् स्वयंसेवक परिचालन आधारभूत तालिममा उहाँले कुनै पनि विपद् आइलाग्दा स्थानीय सरकार पहिला तयार हुनुपर्ने बताउनुभयो ।
हामीले विपद्मा काम गर्न नगर प्रहरीलाई स्रोतसाधन सम्पन्न बनाएका छौँ, आजको तालिमले पनि यसलाई सहज बनाउँछ, सुक्ष्म तवरले प्रशिक्षण दिन सक्ने व्यक्तित्व तयार गरेका छौँ । ललितपुर महानगर विपद् न्यूनीकरणका क्षेत्रमा सक्रिय भएर लागिपरेको छ”, महर्जनले भन्नुभयो । विपद् जोखिम न्यूनीकरण प्राधिकरणको सहकार्यमा पहिलोपटक तालिम भएको बताउँदै उहाँले आगामी दिनमा यसलाई निरन्तरता दिने जानकारी दिनुभयो ।
विपद् न्यूनीकरणका क्षेत्रमा काम गर्न ललितपुर महानगर अगाडि छ र प्रभावकारी ढङ्गले काम पनि गरिरहेको छ”, महानगरप्रमुख महर्जजले भन्नुभयो । उहाँले विपद् आउनुपहिला नै तयारी अवस्था बस्नुपर्ने भन्दै संवेदनशील भएर पूर्वतयारी, उद्धार तथा राहतमा जुट्नु सबैलाई आग्रह गर्नुभयो ।
महानगरप्रमुख महर्जनले विपद् जोखिमका क्षेत्रमा काम गर्न पूर्वाधार तयार हुनुपर्ने भन्दै यस वर्ष रु पाँच करोड बजेट छुट्याएर काम गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार महानगरका विभिन्न चार स्थानमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार तयार गरिँदै छ ।
राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनीयर दिनेशप्रसाद भट्टले तीन वटै सरकारलाई समन्वय गर्ने दायित्व प्राधिकरणको भएको भन्दै विपद् जोखिम न्यूनीकरणका लागि स्वयंसेवक परिचालन गर्न नमूना परियोजनाका रूपमा यो तालिम सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले विपद्का समयमा उद्धारका लागि स्थानीय समुदाय पहिलो उद्धारकर्ता हुने भन्दै त्यसका लागि स्वयंसेवक विकाससम्बन्धी पाठ्यक्रम तयार गरेर अगाडि बढिरहेको उल्लेख गर्नुभयो । हरेक टोलमा प्रहरी र सेना राख्न सम्भव नहुने हुँदा समुदायमा सीप, दक्षता अभिवृद्धि गरेर जोखिम कम गर्ने प्राधिकरणको उद्देश्य रहेको उहाँले जानकारी गराउनुभयो ।
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले समुदायस्तरबाट हुने उद्धार र प्रतिकार्य विपद्मा प्रभावकारी हुने भन्दै समुदायलाई सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले समुदायस्तरमा स्वयंसेवक परिचालनका लागि यो तालिम एउटा शृङ्खलाका रूपमा रहेको भन्दै यस तालिमले उत्पादन गर्ने प्रशिक्षकले समुदायमा तालिम दिनसक्ने गरी तयार हुने विश्वास व्यक्त गर्नुभयो ।
महानगरका प्रमुख प्रशाशकीय अधिकृत रेखादास श्रेष्ठले नेपालको भूगोल प्राकृतिक सुन्दरतासँगै विपद्को जोखिमयुक्त क्षेत्रमा पर्ने भएकाले तीनै तहका सरकारले समन्वय र सहकार्य गरी विपद् न्यूनीकरणका लागि योजनाबद्ध काम गर्नुपर्ने बताउनुभयो । विपद् व्यवस्थापनको पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन यो तालिम महत्त्वपूर्ण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
उहाँले विपद् जोखिम न्यूनीकरणसम्बन्धी स्रोतसाधन र उपकरण पर्याप्त हुँदाहुँदै पनि भएका जनशक्ति दक्ष नहुँदा समस्या भएको भन्दै आगामी दिनमा यसता तालिमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
ललितपुर महानगरका नगरप्रहरीलाई लक्षित गरेर सात दिनसम्म सञ्चालन हुने यो तालिममा विपद् जोखिम न्यूनीकरणका सन्दर्भमा आधारित रहेर प्रयोगात्मक र सैद्धान्तिक सीप सिकाइने तालिमका संयोजक अतिरिक्त प्रहरी महानिरीक्षक ठूले राइले जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ