११ जेठ, काठमाडौं : बाराका युनुस अन्सारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद पाएको छ ।
नक्कली भारतीय नोट प्रकरणमा ६ वर्ष कैद सजाय भुक्तान शनिबार छुटेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छुटेलगत्तै पक्राउ गरेको थियो । अन्सारीविरुद्ध सीआईबीले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालेको छ । आज अदालत उपस्थित गराइएका अन्सारीमाथि थप अनुसन्धानका लागि ५ दिनको म्याद पाएको सीआईबीका एसएसपी होबिन्द्र बोगटीले बताए ।
उनी कैद मुक्त हुने भएपछि सीआईबीले अनुसन्धानका लागि उपस्थित गराइदिन कारागार व्यवस्थापन विभागलाई बुधबार मात्रै पत्र पठाएको थियो । त्यही पत्रका आधारमा कारागारबाट रिहा भएलगत्तै शनिबार नियन्त्रणमा लिएको थियो ।
अन्सारी पहिलो पटक १३ पुस २०६६ मा २५ लाख ४४ हजार ५ सय भारतीय जाली नोटसहित पक्राउ परेका थिए । उनी अर्को महिना १७ माघमा कारागार चलान भएका थिए । त्यतिबेला उनी नेसनल टेलिभिजनका अध्यक्ष थिए । ६ असोज २०६७ मा पुनः ४० लाख ९१ हजार जाली नोट बरामद हुँदा पनि अन्सारी जोडिएका थिए । त्यसपछि करिब ५ वर्ष कैद सजाय भुक्तान गरेर उनी १८ असोज २०७० मा छुटेका थिए ।
तेस्रोपटक १० माघ २०७० मा पुनः ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका अन्सारी फेरि सजाय भुक्तान गरी छुटे । १० जेठ २०७६ मा पुनः ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परे । त्यसपछि उनलाई अदालतले दोषी ठहर गर्दै ६ वर्ष कैद, ६० हजार जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यही कैद सजाय उनले शनिबार भुक्तान गरेका हुन् ।
हिरासतबाहिर राख्दा अन्सारीमाथि ‘सुरक्षा चुनौती’ देखिएकाले अनुसन्धानका लागि हिरासतमै लिनुपर्ने अवस्था आएको प्रहरीका एक अधिकारीको भनाइ छ । अन्सारी भारतीय आपराधिक गिरोहको निसानामा पर्दै आएका छन् । केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका बेलासमेत अन्सारीमाथि भारतीय सुटर मनमित सिंह भनिने मनमित भाटियाले २६ फागुन २०६७ मा गोली हानी हत्या प्रयास गरेका थिए ।