काठमाडौँ, १० जेठ : सामान्यतया ह्याकरहरूले ठूला कम्पनी, ठूला देश, ठूला ठाउँलाई टार्गेट गर्नुको कारण त्यहाँबाट धेरै चिज पाइन्छ भनेर हो । तर जति ठूलो देश, जति ठूलो कर्पोरेट हाउस भयो, त्यति नै ठूलो ताल्चा प्रयोग गरिएको हुन्छ । अर्थात्, उनीहरूको सुरक्षा प्रणाली बलियो हुन्छ ।
आम मानिसचाहिँ उनीहरूका लागि सजिला टार्गेट हुन्छन् । आम मानिसका डिभाइस ह्याक गर्दा थोरै चिज मात्रै पायो भने पनि धेरैजनाबाट थोरै-थोरै जम्मा गरेर धेरै बनाउँछन् । कतिपय नयाँ ह्याकरले प्रयोगका रूपमा पनि आम मानिसलाई निशाना बनाउँछन् । साइबर आक्रमणको जोखिममा सबैभन्दा धेरै बालबालिका, किशोरकिशोरी र पाको पुस्ता हुन्छन् । साना तथा मझौला व्यवसायी पनि जोखिममा हुन्छन् ।
पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा साइबर अपराधका घटना प्रत्येक वर्ष दोब्बरले बढेको छ । सन् २०२१/२२ मा ४ हजार ५ सय हाराहारीमा यस्ता घटना भएका थिए भने सन् २०२२/२३ मा ९ हजार पुग्यो । २०२३/२४ मा थपिएर १९ हजार पुग्यो । यही संख्यामा बढ्यो भने २०२४/२५ मा ३५/४० हजार पुग्ने देखिन्छ ।
यसमा इन्टरनेट फ्रड, बैंकिङ फ्रड, स्पाम, फिसिङहरू छन् । कुनै न कुनै तरिकाले मान्छेलाई लोभ्याएर उनीहरूबाट अन्तत: पैसा असुल्ने प्रवृत्ति देखिन्छ । इमेल, एसएमएस, सोसल मिडियाको माध्यमबाट यस्ता गतिविधि हुने गरेका छन् ।
– भोजराज घिमिरे
नेपाल खुला विश्वविद्यालय स्कुल अफ टेक्नोलोजीका प्रमुख तथा सहायक प्राध्यापक