10/22/2025, 19:31:15
बुधबार, कार्तिक ०६, २०८२

शान्ति सैनिकको सङ्ख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो


काठमाडौँ, कात्तिक ५ : संयुक्त राष्ट्रसङ्घ (युएन)ले बजेट अभावका कारण द्वन्द्वरत मुलुकमा स्थापना भएका मिसनमा परिचालित शान्ति सैनिकको सङ्ख्या २५ प्रतिशसम्म कटौती गर्दै छ । त्यसबाट शान्ति सैनिक पठाउने देशलाई आर्थिक र सैन्य कूटनीतिमा केही न केही असर पर्ने छ ।

युएनको त्यस निर्णयबाट नेपालले पठाउँदै आएको शान्ति सैन्यको सङ्ख्या पनि कम हुनेछ । यद्यपी युएनमार्फत शान्ति सैनिक परिचान गर्ने सबैभन्दा ठूलो देशको सूचीमा भने नेपाल कायम रहने छ । विश्वका १२० भन्दा बढी देशका एक लाख २० हजार बढी शान्ति सैनिक युएनमार्फत १४ वटा मिसनमा रही विश्वका विभिन्न द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि अहोरात्र खटिरहेका छन् ।

शान्ति स्थापनार्थ सैन्य परिचानका लागि युएनको मुख्य आर्थिक स्रोत भनेको सदस्य मुलुकबाट प्राप्त तोकिएको निश्चित सहयोग हो । केही सदस्य मुलुकबाट प्राप्त हुने आर्थिक सहयोग समयमै नआएको र केहीबाट उपलब्ध हुने भएपछि बजेट अभावमा शान्ति सैनिकको सङ्ख्या कटौती गर्न लागिएको हो ।

नेपाली सेनाको युद्धकार्य महानिर्देशक अनुपजङ्ग थापाले हाल परिचालित शान्ति सैनिकको सङ्ख्यामा २५ प्रतिशत कटौतीको सम्भावनाको योजनाको जानकारी प्राप्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको कूटनीतिक सम्बन्ध हाासिल गर्ने एक महत्वपूर्ण उपाय र यन्त्रका रूपमा नेपाली शान्ति सैनिक छ । राष्ट्रसङ्घबाट शान्ति सैनिकको सङ्ख्या कटौती भए पनि नेपाल भने धेरै शान्ति सेना पठाउने र योगदान गर्ने सूचीमा अग्रणी भूमिकामै रहन्छ ।

राष्ट्रसङ्घका मिसनमा अवश्यकता अनुरूप फौजको सङ्ख्या थपघट हुने गरेको भए पनि पछिल्लो समय भने बजेट अभावकै कारण शान्ति सेनाको सङ्ख्या कटौती गर्न लागेको हो । राष्ट्रसङ्घले फौजको सङ्ख्या घटाउँदा समानुपातिक सन्तुलन कायम गर्ने योजना बनाएको सेनाले जानकारी दिएको छ ।

नेपाली शान्ति सैनिक हाल विश्वका विभिन्न द्वन्द्वरत मुलुकमा स्थापना गरिएका १० वटा मिसनमा तैनाथ छन् । हाल ५३८ म्हिला सैनिकसहित पाँच हजार ८१९ नेपाली शान्ति सेनामा परिचालित छन् । नेपाली शान्ति सैनिकले विश्वमै सहासिक, अनुशासित र व्यावसायिक ‘च्याम्पियन’ सैनिकका रूपमा आफ्नो परिचय बनाइसकेको छ ।

यसअघि निलो हेलमेट धारी एक लाख ५९ हजार ६६४ नेपाली शान्ति सैनिकले राष्ट्रसङ्घको विश्वशान्ति अभियानमा योगदान पुर्याइ नेपाललाई सोही सङ्ख्यामा शान्ति पदक दिलाउन सफल भएको इतिहास छ । त्यस क्रममा विश्वमा द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका ४४ वटा मिसनमा काम गर्ने सिलसिलामा ७४ जना सैनिकको बलिदानी भएको छ भने ७५ जना गम्भीर घाइते छन् ।

युद्धकार्य निर्देशक मनोज थापा भन्नुहुन्छ, “मिसन आवश्यकता अनुरूप नयाँ स्थापना हुने र सञ्चालनमा रहेका मिसन बन्द हुने नियमित प्रक्रिया हो । आवश्यकताकै आधारमा मिसनमा फौज थपिने र कटौती हुन्छन् । यस पटक भने बजेट अभावकाकारण शान्ति सैनिकको सङ्ख्या घटाउनुपर्ने बाध्यता छ ।

नेपाल राष्ट्रसङ्घको सदस्य राष्ट्र हुनुका नाताले महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकोछ । बजेट कटौती हुँदा नेपाली शान्ति सैनिकलाई मात्र होइन, समग्रमा सबै शान्ति फौज पठाएर योगदान गर्ने राष्ट्रलाई असर पर्ने छ । राष्ट्रसङ्घले १५ प्रतिशतसम्मको बजेट अभावलाई सम्बोधन गर्न फौजको सङ्ख्या घटाउन लागेको जानकारी प्राप्त भएको छ । कटौती गरिने फौज समानुपातिक आधारमा हुने छ ।

विश्व शान्ति स्थापनाकार्यमा नेपालको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी छ । संयुक्त राष्ट्रसङ्घको छातामुनि रही नेपाली सेनाले विश्वमै जोखिम युक्तकार्यका लागि प्राप्त जिम्मेवारीलाई सहजै स्वीकार गरी इमान्दार, सहासिक, बहादुरी र व्यावसायिक सेनाको परिचय दिलाउन सफल भएको छ । नेपालले यसअघि नै राष्ट्रसङ्घबाट माग भइ आएमा एकै पटक १० हजारको सङ्ख्यामा शान्ति सैनिक उपलब्ध गराउन सक्ने प्रतिबद्धतासमेत जनाएको छ ।

शान्तिकार्य निर्देशक श्रवणकुमार विष्ट भन्नुहुन्छ, “विश्व शान्तिका लागि आफ्नो जनशक्ति खटाएर राष्ट्रिय हितमा सेनाले गरेको योगदानबारे सबैलाई थाहा भएकै विषय हो । राष्ट्रसङ्घमा फौज उपलब्ध गराएवापत प्राप्त हुने रकम विदेशी मुद्रा आर्जन गर्ने महत्त्वपूर्ण श्रोत हो । फौज कटौती भएमा त्यसमा केही सङ्कुचन आउने सम्भावना रहन्छ ।

परराष्ट्र सम्बन्ध विस्तारका हिसाबले दूतावास नभएका ठाउँमा खटिएका शान्ति सैनिकबाट प्रत्यक्ष नभएपनि परोक्षरूपमा सहयोग पुग्दै आएको छ । नेपाली शान्ति सैनिकको सङ्ख्या कटौती भएको खण्डमा कूटनीतिक र आर्थिक हिसाबले केही हदसम्म नेपालाई पनि असर पर्ने छ । खास गरी विदेशी मुद्रा आर्जन गर्ने शान्ति सेना महत्वपूर्ण श्रोत रहीआएको छ ।

अहिले शान्ति सैनिक ठूलो सङ्ख्यामा पठाउने राष्ट्रको सूचीमा नेपाल अग्रस्थान (पहिलो) नम्बरमा छ । संयुक्त राष्ट्रसङ्घका अनुसार समानुपातिक हिसाबले फौजको सङ्ख्या कटौती हुँदा पनि नेपालको हालको स्थान कायम नै रहने छ । शान्ति सेनामा फौजको सङ्ख्या कटौतीलाई सेनाले योजनाबद्ध रूपमा कार्यान्वयन गर्ने छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..