कास्की, १० जेठ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरि माओवादी लहर बलियो बन्दै गएको दाबी गरेका छन् । शनिबार पोखरामा आयोजित मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गतको जनसंवाद कार्यक्रममा उनले माओवादी आन्दोलनको पुनरागमनको संकेत दिँदै जनतालाई नयाँ क्रान्तिको तयारीमा जुट्न आह्वान गरे ।
अध्यक्ष दाहालले भने, ‘देश माओवादी मय बन्दै गइरहेको छ । मध्यपहाडी लोकमार्ग, तराई–मधेश अभियानमा मैले के महसुस गरेको छु भने २०६४ सालजस्तै माओवादी मय बन्दैछ देश । वृद्ध वृद्धा, युवायुवती, बालबालिका सबै फेरि माओवादीप्रति समर्पित हुने भावना देखिएको छ ।’
उनले आगामी वर्षमा देश फेरि माओवादी मय बन्ने र आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गरे । ‘यदि जनतालाई बुझाउन सक्यौं भने आउँदो एक वर्षमा देश सिंगै माओवादी मय बन्नेछ,’ उनले भने, ‘आउँदो निर्वाचनमा माओवादी केन्द्र एक नम्बर पार्टी हुनेछ । अनि त्यसपछि समाजवादको आधार निर्माण हुनेछ ।’
हालको निर्वाचन प्रणाली र शासकीय संरचनामा गहिरो अन्तर्विरोध रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा संविधान संशोधन गर्नुपर्ने धारणा पुनः दोहोर्याए । उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र भनिसकेपछि सबै वर्ग, समुदायको पहिचान र अधिकार सुनिश्चित भएपछि अब राजनीतिक स्थायित्वको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनपर्छ भनेर हामीले पहिल्यै भनेका थियौँ । तर कांग्रेस र एमालेको असहमतिको कारण त्यसबेला संविधानमै त्यो व्यवस्था गर्न सकिएन । अब समय आएको छ, जनताको सहमतिमा संविधान संशोधन गरी त्यो व्यवस्था ल्याउनुपर्छ ।’
अध्यक्ष दाहालले समाजवादी अर्थतन्त्रको जग बसाल्ने कार्य माओवादी केन्द्रले मात्र गर्न सक्ने दाबी गरे । ‘हामीले योजनाबद्ध ढंगले आत्मनिर्भर अर्थतन्त्र, कृषिमा आधारित उद्योग, पर्यटन प्रवर्द्धन, जडिबुटी प्रशोधन आदिको माध्यमबाट समाजवादको आधार तयार गर्ने सपना देखेका छौँ,’ उनले भने ।
उनका अनुसार माओवादी केन्द्र अहिले समाजवादी क्रान्तिको आधार तयार पार्ने प्रक्रियामा रहेको छ । ‘संविधानले समाजवाद उन्मुख राज्य भने पनि कस्तो समाजवाद भन्नेबारे अस्पष्टता छ । अब त्यो स्पष्टता दिन माओवादी केन्द्रको काँधमा जिम्मेवारी आएको छ,’ उनले स्पष्ट पारे ।
कार्यक्रममा उनले सहिद, बेपत्ता तथा घाइते परिवारहरूसँग नयाँ सम्बन्ध स्थापना गर्दै जनतामा पुनः क्रान्तिको भावना जागृत गर्न लागिएको जानकारी गराए । उनले भने, ‘सबै कमरेडलाई गहिरो आत्म समीक्षा गर्न आग्रह गर्दछु । देशको राजनीतिक स्थायित्व, भ्रष्टाचारको अन्त्य, आर्थिक विकास हाम्रो काँधमा आएको जिम्मेवारी हो ।’
कार्यक्रमको समापनसँगै माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको पहिलो चरण पोखरामा स्थगित भएको छ ।