05/25/2025, 01:55:19

गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन कांग्रेस नेता कोइरालाको सुझाव


काठमाडौँ, १० जेठ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले भ्रष्टाचारको विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बताएका हुन् । उनीहरूले विगतमा समेत भ्रष्टाचारको विषय उठेका केही मन्त्रीहरूले राजीनामा दिएर अनुसन्धानमा सघाएको उल्लेख गर्दै राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री लेखकलाई सुझाव दिएका हुन् ।

उनले अध्यागमनको भिजिट भिसा प्रकरणमा संलग्नता भएको विषय उठिसकेपछि आफूलाई सही साबित गर्न पनि छानबिन हुन जरुरी रहेको बताए । उनले भने, ‘यो कुनै नौलो कुरा होइन । यदि त्यसो हो भने मोरल ग्राउन्डमा पनि उहाँले ‘ल म छोडिदिन्छु, छानबिन गर’ भनेर भने हुन्छ । सामान्य कुरा हो यो त । राजनीतिमा नैतिकता भन्ने कुरा पनि त हुन्छ नि । इस्यु आएको छ । उहाँको संलग्नता नहोला तर इस्यु आइसकेपछि आफू क्लिन छु भनेर देखाउनको लागि पनि छानबिन हुन जरुरी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृह मन्त्रालयसमेत जोडिएको छ । यही विषयमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ