काठमाडौँ, ७ जेठः नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले पदभार ग्रहण गर्नुभएको छ । वालुवाटारस्थित बैङ्कको कार्यालयमा आज पदभार गर्नुहुँदै उहाँले बैङ्क तथा वित्तीय संस्थाको सुपरीबेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताउनुभयो ।उहाँले भन्नुभयो, “हामीले केबल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ । त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ, । ”
त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अबलम्बन गर्ने पनि गभर्नर डा पौडेलले बताउनुभयो । त्यस्तै राष्ट्र बैङ्कका नीति निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।
त्यस्तै, राष्ट्र बैङ्कको स्वायत्तता कायम गर्नका लागी राष्ट्र बैङ्क ऐनअनुसार काम गर्ने पनि गभर्नर डा पौडेलको भनाइ छ । डा पौडेलले आजै सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग गभर्नर पदको तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको थियो । त्यसलगत्तै उहाँले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अर्थमन्त्रालयमा भेटवार्ता गर्नुभएको थियो ।