05/18/2025, 18:06:36

‘सगरमाथा संवाद’को सन्देशसहित सशस्त्रका छत्यालद्वारा सगरमाथाको सफल आरोहण


काठमाडौँ, ४ जेठः ‘सगरमाथा संवाद’को सन्देशसहित हिमाल आरोहणमा निस्कनुभएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गर्नुभएको छ ।

उहाँले आज बिहान ९ः२० बजे सगरमाथाको चुचुरोबाट ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउनुभएको सगरमाथा बेसक्याम्पमा रहनुभएका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी दिनुभयो । छन्त्यालसँगै वङ्दी शेर्पाले पनि सोही समयमा सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

जेठ २ काठमाडौँमा जारी सगरमाथा संवादको सन्देशलाई विश्वमाझ प्रवर्द्धन गर्ने उद्देश्यले सद्भावना दूतको रुपमा छन्त्यालले सगरमाथा आरोहण गर्नुभएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिनुभयो ।

सहायक निरीक्षक छत्यालले गत वैशाख २२ गते छ हजार ११४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गर्नुभएको थियो । उहाँ ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिइ सगरमाथा आरोहण लागि गत वैशाख १५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

उहाँलाई वैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित बिदाइ गर्नुभएको थियो । सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय उच्च भूभाग विपद् उपशाखामा कार्यरत हुनुहुन्छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ