05/10/2025, 15:05:28

म्याग्दीको लाखेत ओझेलमा


म्याग्दी, २७ वैशाखः म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको लाखेत पर्यटक र पूूर्वाधारका पर्खाइमा छ । पर्यटकीय सम्भावना भएपनि पूर्वाधार र प्रचारप्रसारको कमीले मुना र फलीगाउँको शिर तथा मालिका धुरीको फेदीमा रहेको समथर फाँट लाखेतमा पर्यटक भित्रिन सकेका छैनन् । समुन्द्रि सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको लाखेतबाट गुर्जा, धौलागिरि र मानापाथी हिमाल, धवलागिरि गाउँपालिकाका ग्रामिण वस्ति, पहाडी भूगोल र सुर्योदयको दृष्यावलोकन गर्न सकिन्छ ।

मुनाका बासिन्दा मदन पुनले प्राकृतिक हिसाबले सुन्दर र मनोरमस्थल लाखेत सधैँ सुनसान भएको बताउनुभयो । “दृष्य अवलोकनका साथै शान्त र एकान्त वातावरण पनि लाखेतको विशेषता हो,” उहाँले भन्नुभयो  “मुना र फलीयागाउँ हुँदै ढोरपाटन, गुर्जा, डोल्पा र धौलागिरि चक्रीय पदमार्गमा आउने पर्यटकलाई लाखेत घुमाएर बसाई लम्बाउन सकिन्छ ।

लाखेत नजिकैको खर्क र बारीमा हिउँदयाममा गाईभैंसीका घुम्ती गोठ राख्ने गरिन्छ । गोठालाको दैनिकी र जीवनशैलीले पनि पर्यटक लोभ्याउन सक्ने सम्भावना छ । मुना र फलियागाउँदेखि करिब ३० मिनेट उकालो पैदलयात्रा र सवारी साधनमा १० मिनेटमा लाखेतमा पुगिन्छ । केही वर्षअघिसम्म मकै, कोदो र आलु खेती हुने लाखेतको बारी बाँझिन थालेको छ । घुम्ति पशुगोठ लैचाने चलन हराएको छ ।

युवा पुस्ता विदेश पलायन र बसाइसराईका कारण बारी बाझिनुका साथै घुम्ती गोठ हराएको हो । लाखेतमा बनभोजस्थल बनाउन आर्थिक वर्ष २०७६÷०७७ मा डिभिजन वन कार्यालयमार्फत सार्वजनिक शौचालय र दृष्य अवलोकनस्थल निर्माण भएको थियो । संरक्षण र उपभोग नहुँदा शौचालय र दृष्य अवलोकनस्थल अलपत्र भएको छ । धवलागिरी गाउँपालिकाले मुनादेखि लाखेतसम्म सडक पु¥याएको छ ।

मुनादेखि धार्मिक पर्यटकीयस्थल मालिका धुरी जाने सडक लाखेतको नजिकै छ । मालिका जोड्ने सडक स्तरोन्नति, फलीगाउँ र मुनादेखि लाखेत जोड्ने पदमार्ग निर्माण गर्न आवश्यक छ । साथै यहाँको विशेषता र आकर्षणको बारेमा प्रचारप्रसार नभएकाले पनि ओझेलमा परेको हो ।

लाखेतलाई बनभोजस्थलको रूपमा विकास गर्न पहल गरेको धवलागिरी–३ मुनाका वडा अध्यक्ष देवेन्द्र रोकाले बताउनुभयो । मुना र फलीगाउँमा बास बस्ने पर्यटकलाई हाईकिङ गराएर लाखेतसम्म पु¥याउने र दृष्य अवलोकन गराउने ब्यवस्था मिलाउन पहल गरेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ