काठमाडौँ, २७ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रदीप नेपाल नेपाली कम्युनिष्ट आन्दोलनको बहुप्रतिभाशाली नेता भएको बताउनुभएको छ ।
काँडाघारीस्थित दिवङ्गत नेता नेपालको निवासमा परिवारलाई भेट्न पुग्नुभएका नेता खनालले कम्युनिष्ट आन्दोलनका महत्त्वपूर्ण नेता नेपालको निधनबाट आफू मर्माहत भएको बताउँदै शोक सन्तब्ध परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।
नेपाली कम्युनिष्ट आन्दोलन, नेपालको लोकतान्त्रिक आन्दोलन, नेपालको देशभक्तिपूर्ण आन्दोलन र नेपाली प्रगतिशील सांस्कृतिक आन्दोलनलाई अघि बढाउन महत्त्वपूर्ण योगदान गर्नु भएको स्मरण गर्दै नेता खनालले विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, कोअर्डिनेसन केन्द्रको निर्माण गर्ने, नेकपा (माले) को गठन गर्ने र नेकपा (एमाले) लाई विकास र विस्तार गर्ने लगायतका कामहरूको सराहना गर्नुभयो ।
नेता नेपालको निधनमा एक अनुशासित, दृढ, इमान्दार र नीतिनिष्ठ नेतालाई गुमाएका बताउँदै उहाँले नेता नेपालको अशल विचार, सद्गुण र अशल कार्यशैलीबाट सिक्दै एउटा सुन्दर, सभ्य, लोकतान्त्रिक र समृद्ध समाजवादी नेपाल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।