05/08/2025, 15:56:50

अध्यक्ष नेपालद्वारा समाजवादी आन्दोलनलाई एकताबद्ध बनाउने प्रतिबद्धता


काठमाडौँ, २५ वैशाख : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा वामवन्थी नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

विभिन्न टुक्रामा विभाजित नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत तथा लोकप्रिय बनाउने कठीन एवम् लामो सङ्घर्षका क्रममा दिवङ्गत नेता नेपालको योगदानको स्मरण गर्नुभयो ।

प्रदीप नेपाल बौद्धिकता, लेखन, तिक्ष्णता र सङ्गठन क्षमताका कारण बहुआयामिक नेता भएको बताउँदै उहाँले दुःखद् निधनप्रति सिङ्गो पार्टी स्तब्ध भएको उल्लेख गर्नुभयो । नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष नेपालले शोकमा पर्नुभएका उहाँकी धर्मपत्नी झुमा देवान नेपाल र छोरी डा समीक्षा नेपालसहित शोक सन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभयो ।

प्रदीप नेपाल २०२६ मा विद्यार्थी राजनीतिमा संलग्न हुँदै प्रगतिशील तथा वामपन्थी आन्दोलनमा क्रियाशील भएर छोटो समयमा नै नेतृत्व क्षमताको विकास गर्दै पार्टीका विविध जिम्मेवारीलाई कुशलताका साथ पूरा गर्नुभएको स्मरण गर्नुभयो ।

अध्यक्ष नेपालले साहित्यकारका रूपमा विभिन्न कृति प्रकाशित गर्दै लेखकको समेत पहिचान बनाउनुभएका दिवङ्गत नेता नेपालले कम्युनिष्ट आन्दोलनको विकासक्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गरी समाज रूपान्तरणमा गर्नुभएको योगदानलाई उच्च सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँको शोषणरहित न्यायपूर्ण समाज निर्माणको सपनालाई पूरा गर्न र समाजवादी आन्दोलनलाई एकताबद्ध बनाउने प्रतिबद्ध उहाँले व्यक्त गर्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ