१० भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का १८ पदाधिकारीका लागि निर्वाचन हुने भएको छ । सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुन लागेको हो । पदाधिकारी र पोलिटब्युरो सदस्यकाे निर्वाचनका लागि एकीकृत समाजवादीले निर्वाचन तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार मंगलबार दिउँसो २ देखि ५ बजेसम्म मतदान हुने छ । मंगलबारनै मतगणना थालिने जनाइएको छ ।
यसअघि एकीकृत समाजवादीले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो । मंगलबार अन्य पदाधिकारीका लागि निर्वाचन हुन लागेको हो ।
मंगलबार एकीकृत समाजवादीले २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्ने छ ।