04/30/2025, 00:30:34

अमेजनले थाल्यो स्याटेलाइट इन्टरनेट प्रक्षेपण, स्टारलिंकसँग प्रतिस्पर्धा गर्ने लक्ष्य


१६ वैशाख, काठमाडौं : विश्वका दोस्रो धनाढ्य जेफ बेजसको कम्पनी अमेजनले आफ्नो महत्वाकांक्षी ‘प्रोजेक्ट कुइपर‘ अन्तर्गत पहिलो चरणमा २७ वटा इन्टरनेट भूउपग्रहहरू प्रक्षेपण गरेको छ । योसँगै अमेजनले विश्वव्यापी द्रुतगतिको इन्टरनेट सेवा विस्तार गर्ने महत्वाकांक्षी लक्ष्यको औपचारिक सुरूवात गरेको छ । फ्लोरिडाको केप केनाभेरल स्पेस फोर्स स्टेसनबाट एटलस भी रकेट प्रयोग गरेर ती भूउपग्रहहरू पृथ्वीको तल्लो कक्षमा पठाइएका छन् ।

अमेजनले कुल ३२ सयभन्दा बढी भूउपग्रहहरू प्रक्षेपण गर्ने र सन् २०२६ सम्ममा ती सबैलाई पृथ्वीको कक्षमा ६०० किमीभन्दा माथिबाट परिक्रमा गराउने योजना बनाएको छ । बेजसले हालै आफ्नी प्रेमिकासहित ६ जना महिला सेलेब्रिटीलाई ११ मिनेट लामो अन्तरिक्ष यात्रामा पठाएर चर्चा र आलोचना दुवै कमाएका थिए । उनकै कम्पनी अमेजनले भूउपग्रहमा आधारित ब्रोडब्यान्ड सेवा विस्तार परियोजनामा १० अर्ब अमेरिकी डलरको लगानी प्रतिबद्धता जनाएको रोयटर्सले उल्लेख गरेको छ ।

स्याटलाइट इन्टरनेट बजार यस दशकको अन्त्यसम्म १९ अर्ब डलरभन्दा बढी पुग्ने अनुमान गरिएका बेला अमेजनले यो परियोजनामार्फत अर्का धनाढ्य इलन मस्कको कम्पनी स्पेसएक्स र स्टारलिंकसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ । स्पेसएक्सले हालसम्म झन्डै ७२ सयभन्दा बढी भूउपग्रह प्रक्षेपण गरिसकेको छ भने भविष्यमा ४२ हजार उपग्रह जडान गर्ने योजना सार्वजनिक गरेको छ । यस्तै, वानवेब र टेलिस्याटजस्ता कम्पनीहरू पनि स्याटेलाइट इन्टरनेट क्षेत्रमा आफ्नो बजार बढाउने ध्याउन्नमा देखिन्छन् । चीनले अमेजन प्रक्षेपणको केही घन्टापछि नै आफ्नै स्याटेलाइट इन्टरनेटसँग सम्बन्धित थप भूउपग्रहहरूको प्रक्षेपण सम्पन्न गरेको चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।

विश्वभर आफ्नो व्यावसायिक र प्राविधिकका साथै क्लाउड सेवासम्बन्धी विशाल पूर्वाधार भएको अमेजनले अन्तरिक्षका अन्य क्षेत्रमा पनि मस्क र स्टारलिंकलाई टक्कर दिन खोजिरहेको छ । २७ वटा उपग्रहहरूको सफल प्रक्षेपणमा अमेजनका प्रमुख बेजसले उत्साह व्यक्त गर्दै आफ्नो कम्पनी द्रुत गतिको र भरपर्दो स्याटेलाइट इन्टरनेट सेवा दिन प्रतिबद्ध रहेको उल्लेख गरे । ‘यो प्रोजेक्ट कुइपर र अमेजनका लागि महत्त्वपूर्ण उपलब्धि हो,’ उनले भनेका छन्, ‘हामी आफ्ना उन्नत प्रविधिमार्फत विश्वभरिका इन्टरनेट पहुँच नपुगेका स्थानमा पुग्ने प्रयत्नमा छौं ।

अमेजनले बेजसकै कम्पनी ब्लु ओरिजिन र मस्कको स्पेसएक्ससँगै फ्रान्सेली कम्पनीसँग समेत यी भूउपग्रहहरूलाई २ वर्षभित्रै पृथ्वीको कक्षमा पुर्‍याइसक्ने सम्झौता गरेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ