राँझा(बाँके), १४ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई सुदृढ बनाउन आफूहरु जनताको बीचमा पुगेको बताउनुभएको छ ।
आज बाँकेको राप्ती सोनारी गाउँपालिका–६ स्थित फत्तेपुरमा माओवादी केन्द्रले सञ्चालन गरेको तराई मधेश जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा बोल्दै उहाँले पार्टीका अभियान, विचार र सिद्धान्तलाई जनतासम्म पुर्याउन र जनताका समस्या बुझ्दै जनतासँग नजिकको सम्बन्ध स्थापित गर्न अभियान सफल भएको बताउनुभयो ।
“हामीले सरकारमा रहँदा सामाजिक न्याय र सुशासनको पक्षमा गरेको कामबारेमा जानकारी गराउने र तराई मधेसका सबै समुदायका जनतासँग सम्बन्ध जोड्र्दै पार्टीलाई सुदृढ बनाउने अभियानमा छाँै”, उहाँले भन्नुभयो, “म पहिलो पटक यो राप्ती सोनारी गाउँपालिकामा आउँदा उत्साहित भएको छु यहाँको विकासको लागि गर्नुपर्ने काममा म प्रतिबद्ध पनि छु ।”
उहाँले बाँकेको राप्ती सोनारी क्षेत्रमा पछिल्लो समयमा विकास निर्माण र शिक्षा स्वास्थ्यको अवस्थामा सुधार भएको उल्लेख गर्दै सडक, स्वास्थ्य चौकी र राप्ती नदीको कटान रोक्न आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पूर्वप्रधानमन्त्री प्रचण्डले आइतबारनै राप्ती सोनारी–७ मा राप्ती नदीले गरेको कटान तथा तटबन्धको स्थलगत निरीक्षण समेत गर्नुभएको छ । कटान तथा तटबन्धको निरीक्षण गर्दै अध्यक्ष प्रचण्डले तत्काल तटबन्धको काम पूरा गरेर सो क्षेत्रका जनतालाई डुबान र कटानको त्रासबाट जोगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले तत्काल हुनसक्ने क्षतिको न्यूनीकरणका लागि उपलब्ध बजेटबाट काम अघि बढाउन तटबन्ध निर्माण आयोजना प्रमुखलाई निर्देशन दिँदै थप बजेटका लागि आफूले पनि पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
सो अवसरमा पूर्वमन्त्री माओवादी स्थायी समितिका सदस्य महेश्वर गहतराज अथक, पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी, लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी नमूना र वडा नम्बर सातका वडाध्यक्ष रामलखन थारूले राप्ती नदीले गर्दै आएको कटान, डुबानलगायतका समस्याका बारेमा अध्यक्ष प्रचण्डसमक्ष जानकारी गराउनु भएको थियो ।
माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय उपाध्यक्ष पम्फा भुसाल, सचिव चक्रपाणी खनाल बलदेव, प्रदेश अध्यक्ष सुदर्शन बराललगायतका नेताको सहभागिता रहेको थियो ।