काठमाडौँ १३ वैशाखः नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक व्यवस्थाका लागि स्वर्गीय मनमोहन अधिकारीको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ ।
२६औँ मनमोहन स्मृति दिवसका अवसरमा पार्टीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जीवनभर निष्ठा र आदर्शको राजनीति अवलम्बन गरेका अधिकारी मुलुक र जनअधिकार रक्षाका लागि समर्पित व्यक्तित्व भएको बताउनुभयो ।
प्रथम कम्युनिष्ट प्रधानमन्त्री अधिकारीलाई हालसम्म पनि हरेक नेपालीले बिर्सन नसकेको भन्दै पूर्वप्रधानमन्त्री खनालले छोटो समय मात्र सरकारको नेतृत्व गरेका अधिकारीले गरेका जनमुखी निर्णय र विकास निर्माणका लागि यो सम्भव भएको धारणा राख्नुभयो । उहाँले एउटा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्दै नेपालको समाजवादी क्रान्तिलाई सफल बनाउन सकेमात्र अधिकारीप्रति उच्च सम्मान हुने बताउनुभयो ।
आजै पार्टी अध्यक्ष माधवकुमार नेपालले नेपाली स्व अधिकारी राजनीतिमा इमान्दार र निष्ठावान् नेता भएको बताउँदै जनताको समृद्धि तथा सामाजिक विकासका लागि कम्युनिष्ट शक्तिलाई एकीकृत गर्ने कार्यमा खेलेको भूमिका स्मरणीय रहेको बताउनुभएको थियो ।
कम्युनिष्ट आन्दोलनको विकासक्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका अधिकारीले छोटो समय सरकारको नेतृत्व गर्दा लोकप्रिय कार्यक्रम सञ्चालन गरेको स्मरण गर्दै उहाँको त्याग तथा निष्ठा अनुकरणीय रहेको उल्लेख गर्नुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले कम्युनिष्ट आन्दोलनमा प्रतिबद्ध रही जनहित र राष्ट्रियताको संरक्षण तथा संवर्द्धनका पक्षमा क्रियाशील रहन दिवसले सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।