04/24/2025, 22:40:02

अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्छ : उपप्रधानमन्त्री सिंह


भक्तपुर, ११ वैशाखः उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनआन्दोलनबाट प्राप्त जनताको अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्नेमा जोड दिनुभएको छ ।

आज भक्तपुरमा जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसका समाजवादी नेता जगन्नाथ आचार्यको १०२औँ जन्मजयन्ती कार्यक्रममा उहाँले अधिकार प्राप्तिका लागि कांग्रेस र कम्युनिष्ट एकै ठाउँमा उभिएर आन्दोलन गरे जस्तै उपलब्धि रक्षाका लागि पनि सबै दल एकै ठाउँमा उभिनुपर्ने अवस्था आएको बताउनुभएको हो ।

अधिकार मात्र माग्ने तर कर्तव्य पूरा नगर्नाले जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताउँदै उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “विसं २०४६ को आन्दोलन होस् या २०६२÷०६३ को जनआन्दोलन सबै दलहरू एक ठाउँमा उभिएर सङ्घर्ष गर्दै ठूलो त्याग, तपस्या र बलिदानबाट ल्याएको यो अधिकार र व्यवस्था हो, यो व्यवस्था जोगाउन सबै दल एकै ठाउँमा आउनु आवश्यक छ । अधिकार खोज्ने तर संरक्षण नगर्ने र कसैको लहैलहैमा लाग्ने हो भने मुस्किलले प्राप्त गरेको अधिकार गुम्नसक्ने खतरा आउन सक्छ ।

उहाँले जगन्नाथ आचार्यको राजनीतिक योगदानको चर्चा गर्दै २०४६ सालको जनआन्दोलनपछि गणेशमान सिंहले प्राप्त प्रजातन्त्रलाई सही बाटोमा लैजान सुरु गरेको जनजागरण अभियानमा आफूले संयोजक भएर काम गरेको स्मरण गर्नुभयो । कार्यक्रममा नेताहरु ढुण्डिराज शास्त्री, तिलकप्रकाश कायस्थ, गोविन्द जोशीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल तरुण दलका पूर्वध्यक्ष विनोद कायस्थले जगन्नाथ आचार्यले प्रजातन्त्र प्राप्तिका लागि पुर्याएको योगदानको चर्चा गर्दै उहाँले देखाएको बाटोलाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । आचार्य प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति विनोद आचार्यले जगन्नाथ आचार्यले राजनीतिक परिवर्तनका लागि सिङ्गो जीवन आहुति दिएको चर्चा गर्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ