04/22/2025, 12:35:23

मुलुकलाई प्रतिगमनतिर फर्काउने दिवा सपना नदेख्न माओवादी अध्यक्ष दाहालको चेतावनी


काठमाडौँ, ९ वैशाख : माओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई प्रतिगमनतिर फर्काउने दिवा सपना नदेख्न चेतावनी दिएका छन् । कम्युनिष्ट स्थापना दिवसको शुभकामना दिँदै उनले अब वंशवाद नफर्कने बताएका छन् । मंगलबार उनले विज्ञाप्ति जारी गरी अब समाजवादी क्रान्तिको बाटोमा अघि जानुपर्ने बताएका छन् ।

कम्युनिस्ट आन्दोलनको सुरुआतसँगै समाजको पीँधमा रहेका जाति, वर्ग र समुदायका मुद्दाहरू मुखरित भई उत्पीडित जनताको लामो संघर्ष, त्याग र बलिदानका कारण आज हामी सामन्ती वंशवादमा आधारित राजतन्त्रको अन्त्य गर्दै समावेशी, धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भएका छौं’, उनले भनेका छन् ।

यतिबेला एक थरी प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूले जनताका उपलब्धिहरू खोसेर नेपाली समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस गरिरहेको उनको भनाइ छ ।

तर यो उनीहरूको दिवास्वप्न मात्रै रहेको उनको दाबि छ । उनले थप भनेका छन्, ‘किनभने संघर्षको जगमा प्राप्त उपलब्धिहरू नेपाली जनताले युगौँदेखि साँच्दै आएका सपना हुन्, जसको रक्षा र थप विकासबाट मात्रै हाम्रासामु देखिएका चुनौतीको सामना गर्दै समाजवादतर्फको यात्रामा अघि बढ्न सकिन्छ। परिवर्तनका पक्षधरहरूका लागि यो नै आजको प्रमुख राष्ट्रिय जिम्मेवारी समेत बनेको छ।

अध्यक्ष दाहालले पार्टी कार्यकर्ता, शुभेच्छुक र जनतासँग इतिहासलाई लेनिनको विचार एवं नेपाली जनताको त्याग, बलिदानको सम्मान र प्राप्त उपलब्धिहरूको रक्षा र विकासमार्फत समाजवादको यात्रामा एकजुट हुन अपीलसमेत गरेका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ