04/21/2025, 02:56:22

पार्टीभित्र रहेको गुटबन्दी हटाउन नेता कार्यकर्ता एकजुट हुनु जरूरी छ: अध्यक्ष प्रचण्ड


मोरङ, ७ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र रहेको गुटबन्दी हटाउन नेता कार्यकर्ता एकजुट हुनु जरूरी रहेको बताउनुभएको छ ।

माओवादी केन्द्र विराटनगर महानगर कमिटीको दोस्रो सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले एकताबद्ध भएर लागेकै कारण यस क्षेत्रमा भएको उपनिर्वाचन र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजय हासिल गरिएको बताउनुभयो ।

अध्यक्ष दाहालले माओवादीको १८ महिने शासनकालमा भ्रष्टाचारविरुद्धको अभियानले पार्टीप्रति ठूलो आशा जगाएको भन्दै पार्टीको सङ्कल्पअनुसार जनताले देख्ने, बुझ्ने गरी सुशासन, सामाजिक न्याय र समृद्धिका लागि काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टीले सञ्चालन गरेको हुलाकी सडक अभियानमा जनताको ठूलो उत्साह, सहभागिता र लहर आएकाले यसलाई सङ्गठनमा रूपान्तरण गरी आगामी निर्वाचनमा विजय हासिल गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले विराटनगरको चक्रपथ सम्पन्न गर्न, सुकुम्वासी समस्या समाधान, अन्तरराष्ट्रिय क्रिकेट खेलमैदान र पर्यटन विकासमा पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगर अध्यक्ष नवीन पौडेल, पूर्वमन्त्री अमनलाल मोदी, पार्टीका कोशी प्रदेश इन्चार्ज हरिवोल गजुरेल, केन्द्रीय सदस्य शिवकुमार मण्डल, प्रदेश अध्यक्ष हर्क नेम्वाङलगायतले सम्बोधन गर्नुभएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ