२५ साउन, काठमाडौं । भारतीय कलाकारहरूको समेत अभिनय रहेको नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को पहिलो गीत सार्वजनिक भएको छ। शुक्रबार नाग पञ्चमीको अवसर पारेर सार्वजनिक ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ गीतमा फिल्मका मुख्य कलाकार अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी फिचर्ड छन्। भिडिओमा भारतीय कलाकार प्रदीप रावत समेत देखिएका छन्। यसमा दुर्गेश थापा र सदीक्षा कट्टेलको स्वर छ। गीतको शब्द, संगीत निर्देशन र एरेन्ज पनि दुर्गेशकै हो।
काठमाडौंको बौद्ध हेरिटेजमा सेट लगाएर खिचिएको यो गीतलाई भारतीय कोरियोग्राफर सुष्मा सुनामले कोरियोग्राफी गरेकी हुन्। भिडिओमा क्राउड र सेटअप हेभी देखिएको छ। दर्शकले नेपाली फिल्ममा देखिरहेको भन्दा फरक स्वाद पाउने विश्वास टिमको छ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा नीता र हरिहरका साथमा ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुईँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारहरूको अभिनय छ।
फिल्मलाई यसअघि केही भोजपुरी फिल्मको निर्देशन तथा करिब पाँच दर्जन बढी नेपाली फिल्ममा द्धन्द्व निर्देशकको रूपमा काम गरिसकेका चन्द्र पन्तले निर्देशन गरेका हुन्। अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन्।
फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्। अभिनेत्री निता ढुंगाना निर्माता रहेको फिल्मलाई नेपाली, तेलुगू र हिन्दी गरी तीन भाषामा रिलिज गर्ने तयारी छ। संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि फिल्म प्रदर्शनमा आउनेछ। फिल्मलाई मनोज राठी र उज्वल पौडेलको ब्यांकटेस इन्टरटेन्मेन्टले वितरण गर्दैछ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













