मङ्गलबार, पुष ०९, २०८१

मेरी आमाले राजीनामा दिनुभएको छैन : साजिव वाजेद


२६ साउन, काठमाडौं । शेख हसिनाका छोरा साजिव वाजेदले आफ्नी आमा शेख हसिनाले आधिकारिक रूपमा प्रधानमन्त्रीबाट राजीनामा नदिएको बताएका छन्। अमेरिकामा रहेका वाजेदले समाचार संस्था रोयटर्ससँगको कुराकानीमा आफ्नी आमाले प्रधानमन्त्रीबाट राजीनामा नदिएको बताएका हुन्।

‘मेरी आमाले राजीनामा आधिकारिक रूपमा राजीनामा दिनुभएको छैन। त्यसका लागि उहाँले समय नै पाउनुभएन। उहाँले वक्तव्य जारी गरेर राजीनामा दिने योजना बनाउनुभएको थियो। तर आन्दोलनकारीहरूले प्रधानमन्त्री निवास घेरेर र्‍याली गर्न थाले। उहाँलाई आफ्नो सामान प्याकिङको समेत समय भएन,’ उनले भने। वाजेदले संविधान अनुसार हसिना नै बंगलादेशको प्रधानमन्त्री रहेको समेत दाबी गरे।

‘संविधान अनुसार उहाँ अझै पनि देशको प्रधानमन्त्री हुनुहुन्छ। यद्यपि राष्ट्रपतिले विपक्षी दलका नेता र सुरक्षा निकायका प्रमुखहरूको सल्लाहमा संसद विघटन गरे र प्रधानमन्त्रीले आधिकारिक रूपमा राजीनामा नगरी अन्तरिम सरकार गठन गरियो,’ उनले भने। अन्तरिम सरकारले तीन महिनाभित्र चुनाव गराउनुपर्ने र उक्त चुनावमा हसिना नेतृत्वको अवामी लिगले पनि भाग लिने वाजेदले बताएका छन्।

‘अवामी लिग फेरि शक्तिमा आउनेछ भन्नेमा म पूर्ण विश्वस्त छु। यदी त्यो नभए हामी विपक्षी दल बन्नेछौं,’ उनले भने।

अवामी लिगले फेरि हसिनालाई नै प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि सारेर चुनावमा जाने हो? भन्ने प्रश्नमा वाजेदले आफ्नी आमाले यो कार्यकाललाई नै अन्तिम कार्यकाल बनाउने तयारी रहेको बताए। बरू देशले आवश्यक ठाने आफू नै राजनीतिमा आउने वाजेदले बताए। विपक्षी दलका नेता खालिदा जियाको वक्तव्यबाट आफू खुशी भएको पनि वाजेदले बताएका छन्।

‘बितेको कुरा बितिसक्यो भन्ने उहाँको धारणाले खुशी लाग्यो। विगतलाई बिर्सौं। बदलाको राजनीति नगरौं। एकताको सरकार होस् या नहोस्, मिलेर काम गर्नुपर्छ,’ उनले भने।

वाजेदले बंगलादेशमा लोकतान्त्रिक चुनाव गराउन र लोकतन्त्रको पुनस्थापना गर्न तथा निष्पक्ष निर्वाचन गराउनका लागि मिलेर काम गर्न आफू तयार रहेको पनि बताए। वाजेदले आफ्नो आमा घर फर्कन र आन्दोलनको नेतृत्व गरेका विद्यार्थीहरूको माग र मुद्दाको सामना गर्न तयार रहेको पनि बताए।

‘पक्राउको धम्कीले मेरी आमालाई पहिले कहिल्यै डराएको थिएन। मेरी आमाले केही गल्ती गर्नुभएन। केवल उनको सरकारमा मानिसहरूले अवैध कामहरू गरे, यसको मतलब मेरी आमाले आदेश दिनुभएको होइन। यसको मतलब मेरो आमा यसको लागि जिम्मेवार हुनुहुन्छ भन्ने होइन,’ उनले भने। यद्यपि कसको आदेशमा आन्दोलनरत विद्यार्थीमाथि गोली चलाएको भन्ने प्रश्नमा वाजेदले सरकार जिम्मेवार रहेको भनेनन्।

‘जो जिम्मेवार छन्, उनीहरूलाई न्यायको कठघरामा ल्याइनुपर्छ। मेरी आमाले कसैलाई पनि प्रदर्शनकारीहरूमाथि हिंसा गर्न आदेश दिनुभएन। प्रहरीले हिंसा रोक्न खोजेको थियो, तर केही प्रहरी अधिकारीहरूले अत्यधिक बल प्रयोग गरे,’ उनले भने। उनले प्रदर्शनकारीहरूमाथि गोली हान्ने प्रहरी अधिकारीलाई निलम्बन गरेको बताए।

बंगलादेशमा कोटा प्रणाली सुधारको माग गर्दै विद्यार्थीहरूले महिना दिन गरेको आन्दोलनपछि प्रधानमन्त्री हसिना देश छाडेर भारत निर्वासित भएकी छन्। हसिनाको बहिर्गमनपछि बंगलादेशमा नोबल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुस नेतृत्वमा १७ सदस्यीय अन्तरिम सरकार गठन भइसकेको छ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading