लुम्बिनी, २१ चैत : बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि उपकुलपतिको अन्तरराष्ट्रिय सम्मेलन सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तरराष्ट्रिय उपकुलपति र १८औँ न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन सुरु भएको हो ।
सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले चौथो औद्योगिक क्रान्तिको जनशक्ति उच्च प्रविधिको सीपयुक्त हुन आवश्यक रहेको बताउनुभयो । विश्वविद्यालयबाट उत्पादन हुने जनशक्ति विश्वव्यापी रुपमा काम गर्न सक्षम हुनुपर्ने उहाँको भनाइ थियो । राष्ट्रिय योजना आयोगले प्रविधियुक्त शैक्षिक विकासमूलक योजना निर्माणमा अग्रसरता दिइरहेको उपाध्यक्ष प्राडा अधिकारीले जानकारी दिनुभयो ।
उच्च शिक्षामा बौद्ध दर्शन अन्तरराष्ट्रियकरण, प्राज्ञिक नेतृत्वमा बौद्ध दर्शन र नैतिकता, चौथो औद्योगिक क्रान्तिमा उच्च शिक्षाको अन्तरराष्ट्रियकरण, नेपालको उच्च शिक्षाका चुनौती र अवसर विषयमा केन्द्रीत रही उपकुलपति सम्मेलन आयोजना गरिएको हो । कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शनको प्रयोगात्मक अभ्यासबाट नैतिकवान सीपयुक्त जनशक्ति तयार हुने बताउनुभयो । उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालयले कोर बुद्धिजम र एप्लाईड बुद्धिजम गरी दुई सङ्कायमा शैक्षिक कार्यक्रम सञ्चालन गरी अन्तरराष्ट्रिय विद्यार्थीलाई आकर्षण गर्ने काम गरिरहेको जानकारी दिनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा त्रिरत्न मानन्धरले बुद्धका शिक्षालाई विश्वव्यापी रुपमा शिक्षण गराउन आवश्यक देखिएको उल्लेख गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयले त्यही लक्ष्य लिई काम गरेको बताउनुभयो । सम्मेलनमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले विश्वभरका विश्वविद्यालयलाई एकअर्कामा जोड्दै स्वदेशी विश्वविद्यालयको विकासमा अनुदान आयोगको कार्य गरिरहेको बताउनुभयो ।
भारतको नालन्दा विश्वविद्यालयका उपकुलपति प्राडा अभयकुमार सिंहले मानव संसाधनको विकासमा बौद्ध दर्शन अनिवार्य सर्त रहेको जिकिर गर्दै यसबाट अहिले आवश्यक रहेको नैतिकवान जनशक्ति उत्पादन गर्न सकिने बताउनुभयो । भारतको सिद्धार्थ विश्वविद्यालयका उपकुलपति प्रा कविता शाहले दीगो र आधुनिक शिक्षा विकासका लागि बौद्ध प्रज्ञा अनिवार्य भइसकेको बताउनुभयो ।
मध्यपश्चिम विश्वविद्यालयका प्राडा धु्रवकुमार गौतमले उच्च शिक्षालाई औद्योगिक जनशक्तिको आवश्यकतासँग जोड्दै विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औँल्याउनुभयो । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसीले श्रमबजारसँग जोडेर गएमात्रै उच्च शिक्षाको प्रभावकारिता देखिने भएकाले त्यसतर्फ सबै विश्वविद्यालय लाग्नुपर्ने बताउनुभयो ।
त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले चौथो औद्योगिक क्रान्तिको चरणमा त्यस्तै क्षमताको मानव संसाधन उत्पादनको जिम्मेवारी विश्वविद्यालयमा रहेको बताउनुभयो । राजर्षिजनक विश्वविद्यालयका प्राडा अमरप्रसाद यादवले स्थानीय औद्योगिक व्यवासायिक सङ्घ संस्थाको सम्पर्कबाट विश्वविद्यालयले शैक्षिक कार्यक्रम चलाउँदा जनशक्ति खपत हुने सम्भावना बढिरहेको आँैल्याउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपालले परम्परागत पूर्वीय सभ्यतालाई अङ्गिकार गर्दा नैतिकवान जनशक्ति उत्पादन हुने भएकाले लुम्बिनी बौद्ध र संस्कृत विश्वविद्यालय सहकार्य तथा अनुसन्धानमा जुट्न आवश्यक रहेको बताउनुभयो ।
विदुषी योगमाया हिमालय आर्युवेद विश्वविद्यालयका उपकुलपति डा अर्जुन कार्कीले परम्परागत चिकित्सा पद्दतिको विकासका लागि प्राविधिक शिक्षालाई मूलधारमा राखेर अनुसन्धान आवश्यक देखिएको बताउनुभयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा प्रदीप ज्ञवालीले सोवा रिग्पा मेडिसिन जस्ता विषयलाई प्राथमिकतामा राखेर उच्च शिक्षा सञ्चालनमा जोड दिने समय आएको बताउनुभयो । मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा उपेन्द्र कोइरालाले चौथो औद्योगिक क्रान्तिमा एक देशमै बसेर विश्वव्यापी काम गर्न सकिने अवस्था आउँदै गरेको उल्लेख गर्दै त्यसको व्यवस्थापकीय पक्षलाई अहिलेदेखि नै नेपालले बलियो बनाउनुपर्ने बताउनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा हृदयरत्न बज्राचार्यले विश्वविद्यालयमा विद्यार्थी अभाव चुनौतीपूर्ण अवस्था बढिरहेकाले यसको समाधानका लागि श्रमबजारसँग जोड्ेर शैक्षिक कार्यक्रम सञ्चालनको आवश्यकता आँैल्याउनुभयो । नियोन विश्वविद्यालय जापानका प्रोफेसर हिरासावा कात्सिकोले मानव संसाधन व्यवस्थापनमा सूचना प्रविधि महत्वपूर्ण रहेकाले विश्वविद्यालयहरुले ग्लोबल नेटवर्क स्थापना गरी प्रविधियुक्त जनशक्ति उत्पादन गर्नुको विकल्प नभएको बताउनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले बौद्ध शिक्षाको विश्वव्यापीकरणबाट उच्च प्रविधियुक्त जनशक्ति शीलयुक्त हुने बताउनुभयो । उहाँले बौद्ध शिक्षाको प्रवद्र्धनका लागि उपकुलपतिहरुको सम्मेलनबाट ठोस घोषणापत्र जारी हुने बताउनुभयो । कार्यक्रमअन्तर्गत पहिलो दिन मानव संसाधन व्यवस्थापनमा बौद्ध दर्शनको उपयोग, श्रमबजारमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, उच्च शिक्षाका लागि क्षेत्रीय सहयोग र सञ्जाल निर्माण तथा मानव संसाधन व्यवस्थापनमा संस्थागत भूमिका विषयमा ११ देशका अध्येताले २४ कार्यपत्र प्रस्तुत गरेका छन् ।
दोस्रो दिन उपकुलपतिहरुबीच तीन सत्रमा छलफल हुने कार्यक्रम तय भएको छ । चौथो औद्योगिक क्रान्तिका लागि उच्च शिक्षा ः वैश्विक गतिशीलता, बौद्ध ज्ञान र शैक्षिक सहकार्य विषयको एउटा सत्र तथा नेपालमा उच्च शिक्षाका चुनौती र अवसर ः वैश्विक गतिशीलता, बौद्ध ज्ञान, र शैक्षिक उत्कृष्टताको समावेश विषयमा अर्काे सत्र सञ्चालन हुनेछ । यस्तै नेपालमा वैकल्पिक चिकित्सा प्रवद्र्धन ः दीगो विकास लक्ष्यसँगको सहकार्य विषयमा तेस्रो सत्र सञ्चालन हुने छ । सम्मेलनमा नेपाल, भारत, चीन, कम्बोडिया, जर्मनी, जापान, लाओस्, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र भियतनामका विज्ञ तथा अध्येताको सहभागिता रहेको छ ।