काठमाडौँ, १९ चैत: देशको राजधानी काठमाडौं सहर विश्वकै प्रदूषित सहरको पहिलो स्थानमा उक्लिएको छ । मंगलबार साँझ ७ बजे मापन गरिएको काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) २०४ पुगेको हो ।
विश्वको वायु गुण्स्तर मापन गर्ने साइट एयर क्वालिटी एयरको अनुसार दोस्रोमा बंगलादेशको राजधानी ढाका र तेस्रोमा भियतनामको राजधानी हनोई रहेको छ । ढाका र हनोईको एक्यूआई १५१ रहेको छ । केही दिनयता काठमाडौंको वायुमण्डल खराब भएसँगै हावा प्रदूषित भएको हो । यसैगरी सोमबार पनि काठमाडौं विश्वको सबैभन्दा प्रदूषित सहरको पहिलो नम्बरमा आएको थियो ।
पर्याप्त वर्षा नहुँदा हिउँदमा काठमाडौं उपत्यकाको आकाश प्रदूषित हुने गर्दछ । ५० सम्मको एक्यूआईलाई सन्तोषजनक र १५० देखि २ सयसम्मलाई अस्वस्थ मानिन्छ ।
स्वस्थ वातावरणका लागि हावामा २.५ माइक्रोनभन्दा सानो व्यास भएका कण (पीएम २.५) को मात्रा प्रतिघनमिटरमा ५ माइक्रोग्राम वा त्यसभन्दा कम हुनुपर्छ । तर, काठमाडौंमा यसको मात्रा अधिकतम १२०.५७ रहेको पाइने गरेको छ । यस्ता कणमा नाइट्रेट्स, सल्फेट, ब्ल्याक कार्बन, एमोनियम र धूलोका कण हुन्छन् जुन स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छन् ।