काठमाडौँ, १७ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय निरीक्षण गर्नुभएको छ ।
आलोकनगरस्थित कार्यालयमा पुगेर शुक्रबार पूर्वराजा समर्थित आन्दोलनकारीले तोडफोड तथा क्षतिबारे जानकारी लिन उहाँ आज त्यहाँ पुग्नुभएको हो । घटनाबारे जानकारी लिएपछि महासचिव पोखरेलले उक्त घटनाको निन्दा गर्दै मुलुकका भौतिक संरचना, राजनीतिक दल, सञ्चारगृहमाथि अराजक समूहले गरेको आक्रमण लोकतन्त्रविरुद्ध रहेको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले पनि एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेर घटनाक्रमबारे जानकारी लिनुभएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो । आन्दोलनकारीले ढुङ्गामुढा तथा आगजनी गर्दा भवनका अधिकांश सिसा फुटेका, फर्निचर तथा महत्वपूर्ण कागजात जलेका छन् ।