सुदूरपश्चिम, १७ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र, संविधान र व्यवस्थाको रक्षाका लागि देखिएका कतिपय कमीकमजोरीलाई सुधार गर्नुपर्ने बताउनुभएको छ ।
सो पार्टीको आज धनगढीमा सुरु भएको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा पूर्वप्रधानमन्त्री नेपालले ठूलो बलिदानी र त्यागबाट प्राप्त परिवर्तनको उपलब्धि एवं जनताको शासनलाई अँध्यारोमा धकेल्ने दुष्प्रयास भइरहेको बताउनुभयो । नेपालले बहुमतको आडमा मनपरी गर्छु भनेर चल्न खोजेमा पार्टीहरु बीचको सम्बन्धमा सुधार नआउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हृदय फराकिलो बनाएर देखिएका कतिपय कमीकमजोरी स्वीकार्दै सुधार गर्ने आँट गर्न सक्नुपर्छ ।” उहाँले जनतासँग जोडिएर आन्दोलनलाई उठाउन र परिवर्तनको वाहक बनेर काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
समारोहमा पूर्वप्रधानमन्त्री एवं सो पार्टीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, महासचिव घनश्याम भुसाललगायतले सम्बोधन गर्नुभएको थियो । दुई दिनसम्म चल्ने अधिवेशनमा पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने बताइएको छ ।