04/01/2025, 23:27:39

चामुण्डा माई र बालकुमारी माईको मिलन गराएर मनाइयो जात्रा


काठमाडौँ, १७ चैतः घोडेजात्राका अवसरमा ललितपुरस्थित चामुण्डा माई र बालकुमारी माई देवीलाई खटमा राखेर टोल टोलमा घुमाइ एकापसमा मिलन गराएर जात्रा मनाइएको छ । परम्पराअनुसार मङ्गलबजार क्षेत्रमा पुगेपछि दुवै देवीलाई मिलन गराई पुनःआफ्नै मन्दिरमा राखिने गरिएको छ ।

ललितपुर महानगरपालिका वडा नं ९ र ११ को पहलमा धिमे बाजासहित पूजाआजा गरी विभिन्न रुटमा घुमाएर आज घोडेजात्राका अवसरमा पाटनका स्थानीयले यो जात्रा मनाएका हुन् । स्थानीयलाई रोगव्याधि, भयबाट मुक्त गराउन तथा भौतिक बाधा अड्चन नहोस् भनेर पाटन नगरभित्र लिच्छवीकालदेखि नै यो जात्रा मनाइँदै आएको यस क्षेत्रका स्थानीयले बताएका छन् ।

किंवदन्ती अनुसार दिदी बालकुमारी माईलाई बहिनी चामुण्डा माईले तीनपटक परिक्रमा गरेपछि दुवै देवीलाई पुनःआफ्नै मन्दिरमा राखिने गरिएको चामुण्डा माई जात्रा व्यवस्थापन समितिका सचिव राजेश्वर महर्जनले जानकारी दिनुभयो ।

यस क्षेत्रका स्थानीयले भेला भई खानाका परिकार खाएर नाँचगान गरी एकअर्कामा मिलन र खुसी साटासाट गर्दै नायखी बाजाको तालमा देवीको परिक्रमा गराई यो जात्रा मनाएका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ