मङ्गलबार, पुष ०९, २०८१
को हुन् मुहम्मद युनुस?

बंगलादेशमा अन्तरिम सरकार प्रमुखमा मुहम्मद युनुस


साउन २३, शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बंगलादेशमा अन्तरिम सरकार गठन प्रक्रिया अगाडि बढेको छ। मंगलबार राष्ट्रपति मुहम्मद शाहबुद्दिन, सेना प्रमुख र आन्दोलनरत विद्यार्थी प्रतिनिधिबीच अन्तरिम सरकार गठनबारे छलफल भएको थियो। छलफलपछि नोबल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मुहम्मद युनुसलाई अन्तरिम सरकार प्रमुख बनाउने निर्णय भएको छ।

युनुसलाई अन्तरिम सरकार प्रमुख बनाउन विद्यार्थीहरूले नै माग गरेका थिए। अन्तरिम सरकार प्रमुख बनाउने भएपछि विदेशमा रहेका उनी बंगलादेश फर्कन लागेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन्।

युनुसले बंगलादेशमा लघुवीत्तको अवधारणा सुरूवात गरेका थिए। न्युयोर्क टाइम्सका अनुसार गरिबहरूलाई पनि आर्थिक उन्नति गर्ने अवसर मिलोस् भन्ने हेतुले उनले सन् १९८३ मा ग्रामीण बैंकको स्थापना गरेका थिए । बैंकहरूले ऋण नपत्याउने गरिब नागरिकहरूले उनले स्थापना गरेको ग्रामीण बैंकबाट ऋण पाउँथे। सोही कार्यका लागि उनलाई सन् २००६ मा नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो। नोबल शान्ति पुरस्कार पाएपछि उनले संसारभरबाट लोकप्रियता कमाए।

तानाशाही मात्रै नभएर पछिल्ला दशकमा शेख हसिनामा अहंकार र दम्भ पनि बढैको थियो। आफू भन्दा कोही धेरै लोकप्रिय भएको उनले सहनै छोडेकी थिइन्। लाखौं जनतालाई ग्रामीण बैंकमार्फत १०० डलरभन्दा कम रकमको ऋण (लघुवित्त) उपलब्ध गराएर गरिबी रेखाबाट निकालेपछि नोबेल शान्ति पुरस्कार पाएका युनुस पनि उनको कोपभाजनमा परे।

भर्खर नोबेल पुरस्कार जितेर लोकप्रियताको शिखरमा रहेका बेला सन् २००७मा तत्कालिन सैनिक शासनले वाक्क भएका युनुसले दल खोलेर राजनीतिमा आउने सोच बनाएका थिए। त्यतिबेला उनले नाम नतोकी सिद्धान्त नभएर नेताहरू पैसाका लागि राजनीति गर्ने भनेका थिए।

युनुसको त्यो भनाइ संसारभरका नेतालाई जनताले लगाउने खालको भए पनि हसिनाले कहिल्यै भुलिनन्। र युनुसजस्तो लोकप्रिय मान्छे राजनीतिमा आए आफू सत्ताच्यूत हुने डरले युनुसमाथि निशाना साँध्न थालिन्। शुरूमा उनले देशमा अवकाश पाउने उमेर ६० भए पनि युनुस ७३ वर्षसम्म ग्रामीण बैंकको प्रमुख रहेको भन्दै २०११ मा उनलाई प्रमुखबाट हटाइन्।

युनुसले विश्व बैंकलाई भड्काएर सन् २०१२ मा पद्‌मा नदीमाथिको लामो पुल बनाउने योजनामा लगानी नगर्न उक्साएको आरोप पनि हसिनाले लगाइन्। गंगा नदीको शाखा पद्‌मामाथि पुल बनाउनुलाई राष्ट्रिय गौरवको विषय बनाउँदै पछि उनले स्वदेशी लगानीमा उक्त पुल बनाइन्। सन् २०२२ मा उनले उद्घाटन गरेको ६.१५ किलोमिटर लामो पुललाई उनले आफ्नो शासनमा देशमा भएको विकासको ज्वलन्त प्रमाणका रूपमा प्रचार गरिन्। पछि युनुसले गरीबको रगत चुसेको आरोप लगाउँदै उनी विरूद्ध चर्को ब्याज लिएको र भ्रष्टाचारको मुद्दा चलाइन्। यसै वर्ष युनुसलाई अदालतले कैद सजायसम्म सुनायो।

तर समयचक्र यसरी घुम्यो कि हसिनाले राजीनामा दिएर देश छोडेपछि अहिले आन्दोलनकारीले विदेशमा रहेका ८४ वर्षीय युनुसलाई कुनै न कुनै हैसियतमा अन्तरिम सरकारमा सहभागी गराउनै पर्ने माग गरे। र राजनीतिमा आउँछु भनेका कारण हसिनाको निशानामा परेका युनुस अन्तरिम सरकारका प्रमुख बन्ने भएका छन्। अब बंगलादेशमा उनकै नेतृत्वको अन्तरिम सरकारले विद्यार्थी आन्दोलनका मागहरू सम्बोधनका लागि काम गर्नेछ।

अन्तरिम सरकारमा रहने अन्य सदस्यहरूको नाम केही दिनमा घोषणा हुने बताइएको छ। हसिनाको विदेश पलायनपछि जुन राजनीतिक रिक्तता कायम भएको छ, त्यसलाई कुन प्रक्रियाबाट नागरिक शासन आएर पूरा गर्नेछ भन्ने अन्यौल भने कायमै छ।

विद्यार्थीहरूले माग गरेजस्तै सबै दल समेटेर युनुसजस्ता स्वतन्त्र र लोकप्रिय मानिस रहेको अन्तरिम सरकार बन्यो भने त्यसले चाँडै निष्पक्ष चुनाव गराएर शासन हस्तान्तरण गर्न सक्नेछ। बिस्तारै धराशायी भएका संस्थाहरूलाई बलियो बनाएर प्रजातन्त्रको जगेर्ना गर्न सक्नेछ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading