04/02/2025, 00:12:33

नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन : प्रधानमन्त्री ओली


काठमाडौँ, १३ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताउनुभएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आज यहाँ आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मानिसहरुले आँकलन नै नगरेको तथा देश र जनताका लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने बताउनुभयो ।

हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छन । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस् । पहिलाको युथ फोर्सजस्तै । यो एउटा निशस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।

प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटीपिटी रोएको टिप्पणी गर्दै यसबारे प्रधानमन्त्रीले जवाफ दिइरहनु नपर्ने स्पष्ट गर्नुभयो । “प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्काे नियुक्ति गर्यो । सक्कियो । त्यही हो जवाफ । उहाँहरुलाई सहयोग हुने उहाँहरुले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन् ।

प्रधानमन्त्री ओलीले यही चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षी दलहरुले सदन अवरोधको काम थालेकामा चिन्ता व्यक्त गर्नुभयो । विपक्षीहरुलाई आग्रह गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस्, आखिर तपाईँहरु चिसै पानीले नुहाउनुपर्छ । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । जिम्मेवार बन्नुहोस् । हाम्रो हकमा, हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।

कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेल, जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य महेश बस्नेत, सङ्घका अध्यक्ष क्षितिज थेबेलगायतले राष्ट्रिय स्वयंसेवक अभियानको आवश्यकताबारे आ–आफ्नो धारणा राख्नुुभएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ