१२ चैत, काठमाडौं : माओवादी केन्द्रका उपमहासचिव तथा सांसद जनार्दन शर्माले काम गर्न नसकेको भनेर सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउन लिएको आधार कसैले नपत्याउने बताएका छन् । घिसिङलाई हटाएर सरकारले ठूलो गल्ती गरेको र भविष्यमा पश्चताप हुने शर्माको भनाइ थियो ।
सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सांसद शर्माले सरकारले घिसिङलाई काम गर्न नसकेको भनेर हटाएको भन्ने कुरा जनताले नपत्याउने बताए । ‘विद्युत् प्राधिकरणको एमडीलाई सरकारले हिजो हटाएछ । सरकारले हटाएपछि के-के आरोप लगायो होला भनेर हेरेको त मुख्य आरोप के रहेछ भने उसले काम गर्न नसकेको । केही गम्भीर विषय छ कि हटाउनुको कारण भन्ने त लागेको थियो, त्यस्तो गम्भीर विषय केही रहेनछ,’ शर्माले भने, ‘यस्तो कुरा कसैले पत्याउन्न । यस्तो वाहियात तर्क गरेर हटाउनु हाम्रो देशको दुर्भाग्य हो र सरकारलाई आग्रह गर्छु कि निर्णय सच्याइयोस् ।‘
शर्माले कार्यकारी निर्देशकबाट घिसिङलाई हटाउने सरकार पछुताउने पनि बताए । ‘बजारबाट त्यतिबेला योग्यतम मान्छेबाट खोजेर नियुक्त गरेको थिए, पहिलो कार्यकालमा । सरकारले ठूलो गल्ती गर्यो, भोलि पश्चताप हुनेछ,’ उनले भने ।
रास्वपा सांसद मनिष झाले भने कुलमान हटाएकोबारेमा लेखा समितिको धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका थिए । उनले डेडिकेटेड फिडर र ट्रंक लाइनबापत उद्योगीले लिएको बिजुलीको बक्यौता कसरी उठ्छ भन्ने प्रश्न गरेका थिए ।