काठमाडौँ, १२ चैत : अमेरिकी सरकारको दबाबपछि मलेसियाले सेमिकन्डक्टर चिपसम्बन्धी नियमनमा कडाइ गर्ने भएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिका लागि महत्त्वपूर्ण यस्ता चिपहरू मलेसियाबाट चीन गइरहेको अमेरिकाको अनुमान छ । अमेरिकाले चीनमा यस्ता चिप निर्यातमा लामो समयदेखि प्रतिबन्ध लगाए पनि उन्नत सेमिकन्डक्टर चिपहरू चिनियाँ कम्पनीहरूले सजिलै प्राप्त गरिरहेको अमेरिकी आशंका छ ।
द फाइनान्सियल टाइम्सको समाचारअनुसार अमेरिकाले चीनमा सेमिकन्डक्टर चिपको प्रवाह रोक्न दबाब दिइहरेकाले मलेसियाले चिपको बेचबिखनका लागि नियमन कडा बनाउने योजना बनाएको छ । मलेसियाका व्यापारमन्त्री जफरुल अजिजका अनुसार अमेरिकी सरकारले मलेसिया आइपुग्ने उच्चस्तरीय एनभिडिया चिप्सहरू चीन पुग्ने आशंकासहित ती चिपहरूमाथि कडा निगरानीको माग गरिरहेको छ ।
‘अमेरिकी अधिकारीहरूले हामीलाई मलेसिया आउने प्रत्येक एनभिडिया चिप्सको ढुवानी निगरानी गर्न माग गरिरहेका छन्,’ अजिजले द फाइनान्सियल टाइम्ससँग भनेका छन्, ‘अमेरिकाबाट आउने सर्भरहरू तोकिएकै डेटा सेन्टरहरूमा मात्र पुगुन् र तत्काल अर्को ठाउँमा नपुग्ने सुनिश्चितता अमेरिकाले हामीसँग चाहेको छ ।’
दुई महिनाअघि चिनियाँ कम्पनीले सार्वजनिक गरेको डिपसिक एआई च्याटबटमा एनभिडियाको चिप प्रयोग भएको छ/छैन भन्नेबारे अमेरिकाले अनुसन्धान गरिरहेको रोयटर्सले जनाएको छ । अमेरिकाले चीनमा चिप्स निर्यात प्रतिबन्ध लगाएको हुँदा एनभिडियाको चिप कसरी पुग्यो भन्नेमा खोजी गरिरहेको हो ।
केही दिनअघि मात्रै सिंगापुरका अनुसन्धानकर्ताहरूले आफ्नो देशका विभिन्न कम्पनीहरूलाई जालसाझीपूर्वक झण्डै ३९ करोड अमेरिकी डलर बराबरको उन्नत अमेरिकी सर्भरहरू मलेसियन कम्पनीहरूसम्म पुर्याएको खुलासा गरेका थिए । विभिन्न तीनजना व्यक्तीले डेल र सुपर माइक्रोजस्ता कम्पनीलाई झुक्याएर ती सर्भरको गन्तव्यबारे झुटो विवरण पेस गरेको आरोप लगाइएको छ । यस्तै, सिंगापुरका विभिन्न मिडियाले चर्चित चिनियाँ एआई प्लाटफर्म डिपसिकले यस्तै तरिकाबाट उन्नत अमेरिकी चिपहरू प्राप्त गर्न सफल भएको पनि अनुमान गरेका छन् ।
हाल मलेसियाले पनि सिंगापुरसँग जोडिएको विषयमा आफ्ना स्थानीय कानुनको उल्लंघन भएको विषयमा जाँच गरिरहेको छ । मलेसियाली अधिकारीहरूले सिंगापुरबाट ल्याइएको भनिएको सर्भरसँगै प्रतिबन्धित अमेरिकी उन्नत चिपहरू पनि सामेल भएको हुनसक्ने र ती चीन पुगे/नपुगेबारे जाँच गरिरहेको रोयटर्सले जनाएको छ ।