सोमबार, फागुन २६, २०८१

प्रदेश र स्थानीय सरकारलाई साथमा लिएर सङ्घीय सरकार अघि बढ्छ : प्रधानमन्त्री ओली


सुदूरपश्चिम, २६ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकार र स्थानीय सरकारलाई साथमा लिएर सङ्घीय सरकार अघि बढ्ने बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा उत्पन्न विविध अफ्ठेरा एवं व्यवधानका चुनौतीलाई सामना गर्न सबै प्रदेश सरकार र स्थानीय सरकारलाई साथमा लिएर अघि बढिने स्पष्ट पार्नुभयो । उहाँले उद्यमशीलताको विकास गरी रोजगारीका अवसर सिर्जना गर्ने कामलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । प्रदेशलाई आधुनिक, विकसित, समृद्ध बनाउन र सुशासन कायम गर्न पहल हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “छिट्टै रोजगार प्रवद्र्धनका लागि हुन लागेको सम्मेलनमा सुदूरपश्चिम प्रदेशको पनि सहभागिता जरुरी छ ।

प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको पालादेखि बिग्रिएको देशको अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले प्रयास गरिरहेको बताउनुभयो । उहाँले आफू प्रदेशका समस्यासँग जानकार रहेको उल्लेख गर्दै कैलालीको गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा छिट्टै सञ्चालन गरिने बताउनुभयो । टनकपुर सम्झौता गर्दा बिग्रिएको पञ्चेश्वर परियोजनालाई सुधारेर अघि बढेको, खुटिया–दिपायल–चैनपुर जाने बाटो महाकाली करिडोर, दार्चुलाको तिङ्करसम्म बाटो बनाउनेजस्ता विकासका काममा सरकारको ध्यान गएको उहाँले बताउनुभयो ।

सभ्यता, संस्कृति र विनम्रताको संस्कार भएको हाम्रो देशमा नराम्रो संस्कार देखाउने, असभ्यता देखाउने बाटोमा धकेल्ने प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “समाजमा सभ्य, शालीन उन्नत संस्कृति स्थापित गर्न सबै लाग्नुपर्छ ।

लोकतन्त्र, संविधान र कानुन नमान्ने प्रवृत्ति बढेको तथा अस्थितरता र अराजक क्रियाकलापले देश अफ्ठेरोमा पर्न लागेकाले लोकतान्त्रिक विधि र कानुनअनुसार देश चल्नुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालको संविधान कसैले दिएको नभई जनताको बलिदानीसहित संविधानसभाबाट बनेको संविधान हो, अराजकताको बाटोबाट हिँडेर कसैले केही प्राप्त गरिहाल्छु भन्ने सपना नदेखे हुन्छ ।

सुशासन र विकासका लागि सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । कांग्रेस र एमालेको अहिलेको सरकारले सहमतिबमोजिम पूरा समय काम गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रदेशलाई विकसित एवं समृद्धिको दिसामा लैजाने काममा लाग्न उहाँले प्रदेशसभा सदस्यहरुलाई आग्रह गर्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ