आइतबार, फागुन २५, २०८१

महिलामाथि हुने शोषणाविरूद्धको सङ्घर्षलाई अझ सशक्त बनाउनुपर्छ : सम्मानित नेता खनाल


काठमाडौँ, २४ फागुन : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले महिलामाथि हुने अन्याय अत्याचार, विभेद र शोषणा विरूद्धको सङ्घर्षलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

एक सय १५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले पूर्णरूपले लैङ्गिक समानता स्थापनाका निम्तिको सङ्घर्षलाई अझ सशक्तरूपले अगाडि बढाउन जरूरी भएको बताउनुभएको हो ।

महिलाहरूको हक र अधिकार प्राप्तिको सङ्घर्ष रूपमा ८ मार्च २०२५ आइपुगेको बताउँदै नेता खनालले सम्पूर्ण महिला दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आफ्नो सन्देशमा भन्नुभएको छ, “आजको दिन विश्वभरका महिला दिदीबहिनीहरूको मुक्तिको ऐतिहासिक महिलाहरूको हक र अधिकारका साथै राजनीतिक, आर्थिक, सामाजिक तथा अधिकारका निम्ति आवाज बुलन्द गरिएको सङ्घर्षको दिन हो । महिला दिदीबहिनीका सङ्घर्षको कारण वर्तमान विश्वमा महिलाअधिकार र समानताका निम्ति उल्लेखनीय हक अधिकारहरू प्राप्त भएका छन् ।

महिलाहरूले चलाउँदै आएको अनवरत सङ्घर्षको कारणले नेपालको वर्तमान सङ्घीय संसद्मा ३३ प्रतिशत र स्थानीय तहमा करिब ४० प्रतिशत महिलाको सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै नेता खनालले यस महत्त्वपूर्ण राजनीतिक उपलब्धिलाई विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ । “महिला–पुरूष पूर्णरूपले समान भएपछि मात्र समाजवादमा पुग्न सकिनेछ”, उहाँले भन्नुभएको छ, “त्यसैकारण आजको ८ मार्चको उपलक्ष्यमा सम महिला दिदीबहिनीहरूलाई आफूमाथि भइरहेका सबै प्रकारका शोषण, अन्याय, अ विभेदका विरूद्ध लड्दै समाजवाद प्राप्तिको ऐतिहासिक लक्ष्यतिर अघि बढ्नमा जोडदार आग्रह गर्दछु ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ