आइतबार, फागुन २५, २०८१

सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ : कोशी प्रदेश मुख्यमन्त्री कार्की


विराटनगर, २३ फागुनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।

विराटनगर ट्रक व्यवसायी सङ्घको ३३औँ वार्षिक साधारणसभा एवं १७औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारले चाहेर पनि सबै काम गर्न नसक्ने भएकाले निजी क्षेत्रको साथ र सहयोग आवश्यक छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “उत्पादन बढाउने, राष्ट्रिय आय अभिवृद्धि गर्ने र रोजगार सिर्जना गर्नसक्ने निजी क्षेत्रसँग सहकार्य गर्न तत्पर छु ।” उहाँले विगतमा सिमसार क्षेत्र, वनभोज स्थल, मठमन्दिरमा गरेका लगानीबाट सोचेजति प्रतिफल प्राप्त हुन सकेकाले सरकार यसबाट पाठ सिकेर उत्पादन र सेवाका क्षेत्रमा लगानी गर्ने योजनामा रहेको जानकारी दिनुभयो ।

ट्रक व्यवसायी सङ्घको आग्रहमा ट्रक पार्किङस्थल निर्माणका गर्न प्रदेश सरकारले रु दुई करोड लगानी गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले भन्नुभयो, “पार्किङस्थल निर्माणबाट सडकमा थुप्रिएर रहेका ट्रकको पनि व्यवस्थापन हुने र यसबाट प्रदेश सरकारलाई आम्दानी पनि हुनेछ ।

उहाँले असारे विकासलाई हतोत्साहित गर्न जेठ १५ गतेदेखि निर्माणका काम रोकी अनुगमनलाई प्रभावकारी ढङ्गले परिचालन गर्ने बताउनुभयो । साथै सरकार अब कृषि र पर्यटनका क्षेत्रमा योगदान दिन चाहेको धारणा राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजी निर्माण गर्न सरकारले लगानी सम्मेलन गर्न लागेको र यसबाट प्रदेशमा लगानीका सम्भावनाहरु बढ्ने, रोजगार सिर्जना हुने, उत्पादन एवं उत्पादकत्व पनि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ