काठमाडौं । राष्ट्रिय सभाले पनि आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ। अर्थमन्त्री वर्षमान पुनद्वारा प्रतिनिधिसभाबाट पारित भई आएको आगामी आर्थिक वर्षको बजेट पारित गर्ने प्रस्ताव टेबुल गरेपछि राष्ट्रिय सभाले सर्वसम्मत पारित गरेको हो।
अर्थमन्त्री पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट सार्वजनिक गरेका थिए। एमाले सरकारमै रहेका बेला तीब्र विरोधका बीच असार ११ मा प्रतिनिधि सभाले बजेट पारित गरेको थियो। तर, शुक्रबार राष्ट्रिय सभाले बजेट पारित गर्दा सरकार अल्पमतमा परिसकेको छ।
मंगलबार एमालेले सरकारबाट बाहिरिने निर्णय गरे पनि राष्ट्रिय सभामा बजेट पारित गर्न भने सघाएको छ।
आजको राष्ट्रिय सभा बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभाबाट पारित भई आएको विनियोजन विधियेक निर्णयार्थ प्रस्तुत गर्दा कसैले पनि हुन्न भनेनन्। प्रतिपक्षी बेन्चमा रहेका कांग्रेससहितका सांसद मौन बसेपछि बजेट सर्वसम्मत पारित भएको हो।
यसअघि बैठकमा बजेटमाथि सांसदले उठाएका विभिन्न प्रश्नको जवाफ अर्थमन्त्री पुनले दिएका थिए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















