07/05/2025, 13:39:55

कलेज फर्किए केआईआईटीका ८० प्रतिशत नेपाली विद्यार्थी


काठमाडौँ, २१ फागुन : नेपाली छात्रा प्रकृति लम्सालको होस्टेलमा भएको शंकास्पद मृत्युको अनुसन्धान माग गर्दा नेपाली विद्यार्थीमाथि भएको कुटपिट र दमनका कारण भारतको ओडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा उत्पन्न तनाव साम्य हुँदै गएको छ । घटनाका क्रममा धरपकड गर्दै निकालिएका र कलेज छाड्न बाध्य भएका करिब ८० प्रतिशत नेपाली विद्यार्थी होस्टेल फर्किएका छन् ।

विश्वविद्यालय प्रशासनका अनुसार बुधबार साँझसम्म ९ सय १३ नेपाली विद्यार्थी फर्किएका छन् । त्यहाँ १ हजार १ सय ६९ नेपाली विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालय प्रशासनले विद्यार्थी तथा अभिभावकसँग व्यक्ति–व्यक्ति सम्पर्क गरेर घटनाप्रति माफी माग्दै फर्कन आग्रह गरेपछि स्थिति सहज बन्दै गएको हो । केआईआईटीले कलेज फर्काउन ९ सय नेपाली विद्यार्थीका लागि हवाई टिकटसमेत काटिदिएको जनाएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा. शरणजित सिंहले बुधबार दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मालाई गरेको पत्राचारमा ८ सय २८ नेपाली विद्यार्थी होस्टेलमा रहेको तथा ८५ नेपाली विद्यार्थी इन्टर्नसिपमा बाहिर रहेको उल्लेख छ । बाँकी विद्यार्थी पनि फर्कने क्रममा रहेको उनले जनाएका छन् ।

नेपाली विद्यार्थीको शैक्षिक क्रियाकलाप, परीक्षा र उनीहरूको रोजगारी कार्यक्रम सुचारु भइसकेको छ,’ उनले पत्रमा भनेका छन्, ‘अतिरिक्त कक्षा र परीक्षा दिन नभ्याएका विद्यार्थीका लागि पुनः परीक्षाको कार्यतालिका ल्याएका छौं । सबै विद्यार्थीको सुरक्षा र समावेशी वातावरणका लागि विश्वविद्यालय प्रतिबद्ध छ ।

केआईआईटीमा कम्प्युटर साइन्स तेस्रो वर्षमा अध्ययनरत पाल्पाका विप्लव आचार्यले होस्टेल र कलेज परिसरको वातावरण सहज बन्दै गएको बताए । ‘होस्टेलका वार्डेन तथा सुरक्षा गार्ड परिवर्तन गरिएको छ, प्रशासनका उच्च अधिकारी नियमित रूपमा भेट्न आइरहनुहुन्छ,’ उनले भने, ‘धेरैजसो नेपाली विद्यार्थी फर्किसकेका छन् । परीक्षा दिन छुटेकाका लागि मार्च १० देखि १४ सम्म परीक्षाको नयाँ तालिका ल्याइएको छ ।’ तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीको पनि ‘मिड सेमेस्टर’को परीक्षा भइरहेको छ ।

दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर नेपाल प्रहरीका एसएपी सञ्जीव शर्मा दास केआईआईटी विश्वविद्यालयको स्थिति सामान्य बन्दै गएको बताउँछन् । ‘हामी दैनिक रूपमा विद्यार्थी र कलेज प्रशासनसँग सम्पर्कमा छौं,’ उनी भन्छन्, ‘९ सय बढी विद्यार्थी फर्किसकेका छन्, उनीहरू परीक्षाको तयारीमा छन् ।’ उनका अनुसार ओडिसा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । त्यसबाहेक ओडिसा राज्य सरकारले पनि उच्चस्तरीय समिति बनाएर अनुसन्धान गर्दै छ । भारतको मानव अधिकार आयोगले पनि विज्ञसहितको टोली परिचालन गरी अनुसन्धान अघि बढाएको छ ।

त्यहाँ अध्ययनरत लम्साल फागुन ४ मा कलेजको होस्टेलमा मृत भेटिएकी थिइन् । उनको शंकास्पद मृत्युबारे अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्दै नेपाली विद्यार्थीले प्रदर्शन गरेका थिए । त्यसक्रममा कलेज प्रशासनले नेपाली विद्यार्थीमाथि दमन गर्दै फागुन ५ मा जबर्जस्ती होस्टेलबाट निकालेको थियो । उक्त घटनाको नेपालका साथै भारतमा समेत व्यापक विरोध भएको थियो । नेपाल सरकारले तत्कालै कूटनीतिक सक्रियता बढाएको थियो । भारतको संसद् र मिडियामा समेत केआईआईटीमा नेपाली छात्राको शंकास्पद मृत्यु र नेपाली विद्यार्थीमाथि गरिएको दमनबारे व्यापक आलोचना भएको थियो ।

घटनापछि विश्वविद्यालय प्रशासनले संलग्नताको आरोपका २० भन्दा बढी कर्मचारीलाई निलम्बन गरेको छ । विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी समन्वय शाखाका एक अधिकारीले घटनाबारे विभिन्न निकायबाट अनुसन्धान भइरहेको बताए ।  भारतको राष्ट्रिय मानवअधिकार आयोगले केआईआईटी घटनाबारे अनुसन्धान अघि बढाएको छ । आयोगले आफ्नो महानिर्देशकलाई विज्ञहरूको टिम बनाएर स्थलगत अनुसन्धान गर्न आदेश दिँदै फागुन २६ भित्र रिपोर्ट पेस गर्न भनेको छ । आयोगले घटना अनुसन्धानका लागि उजुरी परेकाले कारबाही अघि बढाइएको जनाएको छ । नेपालको राष्ट्रिय मानवअधिकार आयोगले पनि भारतको आयोगलाई आवश्यक कदम चाल्न आग्रह गरेको थियो ।