सोमबार, फागुन १९, २०८१

नीलकण्ठेश्वर सिद्धेश्वर गुफालाई पर्यटकीय गन्तव्यस्थल बनाइँदै


दमौली (तनहुँ), १८ फागुनः जिल्लाको म्याग्दे गाउँपालिका–७ पयरेमा अवस्थित नीलकण्ठेश्वर सिद्धेश्वर गुफालाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ । यस ठाउँलाई आन्तरिक पर्यटकको गन्तव्यस्थल बनाउन वडाले पूर्वाधार निर्माणमा जोड दिएको हो ।

वडा कार्यालयले हालैमात्र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेको जनाएको छ । म्याग्दे–७ का वडाध्यक्ष वसन्त श्रेष्ठले प्रचारप्रसारको अभावमा यस ठाउँ ओझेलमा परेकाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमा जोड दिइएको बताउनुभयो । उहाँका अनुसार गुफासम्म जाने सिँढी बाटो, पार्कसहितको विश्रामस्थललगायत संरचना बनाउने लक्ष्य राखिएको छ ।

नीलकण्ठेश्वर महादेव सिद्धेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष श्रीभद्र आचार्यले पर्यटकीय सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा यो ठाउँ ओझेलमा परेको बताउनुभयो । धेरै वर्ष पहिलादेखि रहेको गुफाकाबारेमा अधिकांशलाई जानकारी नभएपछि स्थानीयवासी यसको प्रवर्द्धनमा जुटेका उहाँको भनाइ छ ।

स्थानीयवासीले केही समय अगाडि मात्रै गुफाभित्र शिवलिङ्ग, गणेश, नाग, शङ्खलगायत आकृतिसहितका संरचना फेला पारेका थिए । “गुफाभित्र शिवलिङ्ग भएका बारेमा हामीलाई पनि थाहा थिएन, गुफा अवलोकनका क्रममा उक्त शिवलिङ्ग भेटियो । नजिक भएर पनि हामी अन्यौलमा रहेछौँ । शिवलिङ्गबाट आफैँ जल चुहिने गर्दछ”, उहाँले भन्नुभयो ।

यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरी प्रचारप्रसार गर्नसके धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आर्थिक अवस्था सुधार हुँदै जाने उहाँले विश्वास व्यक्त गर्नुभयो । आचार्यले भन्नुभयो, “परापूर्वकालमा यस ठाउँमा भगवान् शिवजीले बास गर्नुभएको थियो । यहाँ एक सय आठ बेलका वृक्षहरू पनि छन् । यहाँको वस्तुस्थिति हेर्दा शिवको बास थियो भन्ने कुरामा द्विविधा छैन ।” उहाँले यसको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटकीय गतिविधि बढाएर स्थानीयलाई रोजगारीका अवसर सृजना गर्न सकिने धारणा राख्नुभयो ।

सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि स्थानीय सरकारले सहयोग गर्ने, पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गर्ने र अपुग भए प्रदेश सरकारसँग साझेदारी गर्ने योजना रहेको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ