धनुषा, १८ फागुनः माओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेशीलगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबैभन्दा बढी त्याग माओवादीले गरेको बताएका छन् ।
धनुषाको कमला नगरपालिका-३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा भेटघाटमा अध्यक्ष दाहालले अब आफूलाई मदेशका मसिहा ठान्ने दलहरूबाट मधेशी जनताको मुक्ति सम्भव नभएको बताएका हुन् ।
‘मधेशमुक्ति‘ को जिम्मा माओवादीले नै लिने प्रतिबद्धता दाहालको छ । उनले पोसाक मात्र नभइ आफूहरूको मन-मनमा रहेको समेत बताएका छन् । अहिले माओवादी अध्यक्ष दाहालसहित पार्टी पदाधिकारी कुर्ता पाइजामामा सजिएर जनतासँग माओवादी तराई मधेश जागरण अभियानमा हिँडेका छन् ।
मधेशी जनताका मुक्तिका लागि माओवादीले ठूलो बलिदान गरे पनि माओवादीकै विषयमा अनेकथरि भ्रम सिर्जना गर्ने प्रयास गरिएको उनको भनाइ छ । अध्यक्ष दाहालले अब भ्रमको पर्दा च्यातेर माओवादी र मधेशी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको बताए ।