काठमाडौँ, १७ फागुनः बजार व्यवस्थापनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबारे विमर्श गर्नका लागि काठमाडौंमा सम्मेलन हुन लागेको छ । विभिन्न देशका विज्ञसमेतको सहभागितामा नेपाली बजार व्यवस्थापनमा एआईको प्रवर्द्धन गर्नका लागि समिट गर्न लागिएको हो ।
आयोजक नेप्लिज मार्केटिङ एसोसिएसनका अनुसार फागुन २१ र २२ (मार्च ५ र ६) मा सम्मेलन आयोजना हुँदैछ ।
सम्मेलनमा विभिन्न कर्पोरेट हाउसमा मार्केटिङमा आबद्ध एक सय ५० जनालाई ‘डिजिटल मार्केटिङ’बारे प्रशिक्षण दिइनेछ । बजार व्यवस्थापन र सञ्चारमा एआईको प्रयोगबारे जानकारी दिइनेछ । बजार व्यवस्थापनमा एआईको प्रयोग गरी कार्यसम्पादनमा सघाउ पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
सम्मेलनमा भारत र मोरक्कोबाट आउने विज्ञहरूले प्रशिक्षण दिने र आफ्ना धारणा राख्ने आयोजकले जानकारी दिएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अधिकारीले पनि सम्मेलनमा प्रशिक्षण दिने र सम्बोधन गर्ने कार्यक्रम छ । उनीहरूले नेपाली मार्केटिङले एआईको प्रयोग कसरी गर्ने ? मार्केटिङ रचनात्मक बनाउनका लागि प्रविधिको प्रयोग गर्ने विषयमा पनि विमर्श गरिने आयोजकले बताएको छ ।