शनिबार, फागुन १७, २०८१

राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ : एमाले महासचिव पोखरेल


काठमाडौँ, १७ फागुन : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । अमेरिका र युक्रेनबीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको उल्लेख गर्दै उहाँले छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठूला र शक्तिशाली देशहरूले पनि दुःख पाउनुपर्ने उल्लेख गर्नुभयो ।

अमेरिका र युक्रेनबीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताबारे सामाजिक सञ्जाल फेसबुकमा आज आफ्नो धारणा राख्दै उहाँले भन्नुभएको छ, “छिमेककाविरूद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदोरहेछ, आज रूस र युक्रेन दुवैका लागि युद्ध घाँडो भएको छ । तर युद्ध अन्त्यका लागि उनीहरूले निकै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था देखिँदैछ ।” शान्ति र स्थायित्वका लागि अब हरेक देशले सोच्नुपर्ने उल्लेख गर्दै उहाँले क्षेत्रीय शान्तिबिना विश्वशान्ति सम्भव नहुने बताउनुभएको छ । एसियाली देशहरूले आपसी सम्बन्धको विकासमा जोड़ दिने हो भने एसिया विश्व सभ्यताको केन्द्रका रूपमा पुनःस्थापित हुने अवस्था भएको उहाँको भनाइ छ ।

अमेरिकाको पछिल्लो रणनीतिले अबको एसिया नै भू–राजनीतिको द्वन्द्वको केन्द्र बन्नसक्ने सङ्केत गर्दछ, गाजा क्षेत्र प्यालेस्टानीहरूबाट खोस्ने योजनाले त्यसकै सङ्केत गर्दछ, साथै रूस र युक्रेनबीचको युद्ध अन्त्यका नाममा भएको अमेरिकी प्रयास विश्वशान्तिको उद्देश्यसँग जोडिएको देखिएन, त्यसको केन्द्रमा खनिज सम्पदाको प्राप्ति मुख्य चासोको विषय बन्न पुगेको छ ।

महासचिव पोखरेलले स्वार्थपरक नीतिले अन्ततःआर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भू–राजनीतिक द्वन्द्वको विकास गर्ने धारणा व्यक्त गर्दै प्रकारको परिस्थितिबाट एशियाली राष्ट्रहरू विशेष ढङ्गले सचेत बन्नुपर्ने आवश्यक औँल्याउनुभएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ