१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले पार्टी गम्भीर बिरामी भएको भन्दै सर्जरी गर्नुपर्ने निश्कर्ष निकालेका छन् । साथै तत्काल सर्जरी नगरे ०८४ को चुनावमा राष्ट्रिय पार्टी बन्न पनि कठिन रहेको निश्कर्षसहितको प्रतिवेदन बुधबार सभापति रवि लामिछानेलाई बुझाएका छन् ।
इलामको उपचुनावमा पार्टी उम्मेदवारले जमानत पनि जोगाउन नसकेपछि रास्वपाले देशभर सुझाव संकलन गरेर प्रतिवेदन बुझाउन महामन्त्री ढकाललाई जिम्मा दिएको थियो ।
विभिन्न ३८ जिल्लामा तीन हजार भन्दा बढी व्यक्तिसँग प्रत्यक्ष अन्तर्क्रिया गरेका ढकालले रास्वपामा कालो बादल मडारिएको र त्यसलाई हटाउन जरुरी रहेको बताए । ‘घण्टी निलो छ, तर बादल मडारिएका कारण घण्टी कालो देखिएको छ । बादल हटाउन हामीले केही कुरा गर्नुपर्नेछ’ उनले भने ।
सभापति लामिछानेलाई बुधबार साँझ गृह मन्त्रालयमा प्रतिवेदन बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले नै चुनाव भए रास्वपाले अहिलेकै सिट जोगाउन नसक्ने निश्कर्ष सुनाए ।
०७९ को चुनावमा रास्वपाले प्रत्यक्षमा ८ सिट (उपचुनावसहित) जितेको थियो भने समानुपातिकमा माओवादी केन्द्रले बराबर (१० लाख भन्दा बढी मत) पाएको थियो । ०८४ को चुनावमा एक्लै बहुमत ल्याउने दाबी रास्वपाका नेताहरुले गर्दै आएका छन् । तर महामन्त्री ढकालले एक्लै बहुमत होइन, राष्ट्रिय पार्टी बन्न पनि कठिन हुने समीक्षा गरेका छन् ।
‘मेरो प्रतिवेदन अनुसार अहिलेको अवस्थामा रास्वपा राष्ट्रिय पार्टी मात्र बन्न सक्छ, प्रत्यक्षमा केही सिट मात्र जित्न सक्छ, यही गतिमा तल गइराख्यो भने त्यो अवस्था पनि नरहन सक्छ’, उनले भने ।
समीक्षा यात्राका क्रममा पार्टीमा झाँगिएको विकृतिको आभास भएको भन्दै उनले अगाडि भने, ‘त्यो अनुभूतिबाट अहिले नै झसंग भएर हामी त्यसबाट छुटकारा पाउनुपर्छ ।’
उनले आफू चिकित्सक भएको भन्दै पार्टीलाई बिरामी भएको र अस्पतालमा राखेर उपचार गर्नुपर्ने बताए ।
‘लाजले, वा हिनताबोधले पार्टी बिरामी छ भन्ने स्वीकार गर्न सकिएन, घरमै राखेर उपचार गर्दै लग्यौं, अस्पताल लगेनौं भने त्यतिबेलाको अवस्था निराशाजनक हुन्छ’ उनले भने ।
अस्पताल लगेपछि सर्जरी नै गर्नुपर्छ कि पर्दैन भन्ने पत्रकारको प्रश्नमा ढकालले भने, ‘अलिकति सर्जरी नै चाहिन्छ जस्तो लाग्छ ।’
महामन्त्री ढकालले पार्टीले किन्तु परन्तु नभनी प्रदेश खारेजीको एजेण्डा उठाउनुपर्ने सुझाव दिएका छन् । जनताको माग प्रशासन सुधार मात्र भएको तर पुराना पार्टीहरुले त्यसलाई बंग्याएर प्रदेश संरचना बनाएको ढकालले बताए ।
‘विगतमा जुनसुकै कुरा लेखे पनि अबका दिनमा पार्टीले किन्तु परन्तु केही नलगाई प्रदेश खारेज गर्नपर्छ भन्ने पक्षमा उभिनुपर्छ’, उनले भने ।
त्यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभिनुपर्ने महामन्त्री ढकालले बताए ।
महामन्त्री ढकालले सरकार भने तत्काल छाड्न नहुने बताएका छन् । तर सरकारमा रहनुको औचित्य भने पुष्टि गर्नुपर्ने बताए । ‘भुमरी मानौं वा गोला मानौं त्यसमा फसिसकेको अवस्था छ, जुन ढोकाबाट पस्यो त्यही ढोकाबाट निस्कने छुट छैन, सरकारमा रहनुको औचित्य पुष्टि गर्नुपर्छ’, उनले भने ।
आफूले सभापतिलाई प्रतिवेदन बुझाएपछि सार्वजनिक गर्न आग्रह गरेको भन्दै महामन्त्री ढकालले सभापतिले पार्टीका अरु नेताहरुलाई दिने त्यसपछि सार्वजनिक गर्ने बताए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















