बिहिबार, फागुन १५, २०८१

स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा छ : स्वास्थ्यमन्त्री पौडेल


काठमाडौँ, १५ फागुन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा रहेको बताउनुभएको छ । व्यवस्थित स्वास्थ्य नीति बनाएर अघि बढ्नुपर्ने उल्लेख गर्दै उहाँले समग्र स्वास्थ्य क्षेत्रलाई लिएर नीति बनाउने काम भइरहेको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलमा आज २८औँ स्वास्थ्य सेवा दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले भन्नुभयो, “एकीकृत स्वास्थ्य सेवा ऐन नै ल्याउन खोजिएको हो । सबैलाई समेटेर लैजान खोजिरहेका छौँ । ऐनलाई सरोकारवासँग छलफल गरेर निष्कर्षमा पु¥याउनुपर्नेछ । स्वास्थ्य सेवाभित्रका जनशक्तिका सबै विषय ऐनभित्र समेट्ने प्रयास गरिरहेका छौँ ।

मन्त्री पौडेलले सङ्घीयता भित्र रहेर स्वास्थ्य सेवा विस्तार गर्ने विषयमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मी दबाबमा रहेर काम गर्न सक्दैनन् । काम गर्ने वातावरण निर्माण गर्नुपर्यो । जनशक्ति यहाँ बस्न चाहेका छैनन् । आवश्यक क्षमता अभिवृद्धि गर्ने वातावरण बनेको छैन ? व्यक्तिगत उन्नयनको परिस्थिति सहज बनाइनुपर्छ । यो पनि स्वास्थ्य सेवा ऐनमा समावेश गर्नुपर्छ ।

स्वास्थ्य मन्त्रालयका पूर्वसचिव रोशन पोखरेलले स्वास्थ्य सेवालाई विशेष बनाउन छुट्टै स्वास्थ्य सेवा ऐन बनाउनुपर्ने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीलाई उत्प्रेरणा पनि आवश्यक छ । दरबन्दीको समस्या हल गर्नुपर्नेछ । सङ्घीयतामा स्वास्थ्य सेवालाई कहाँ राख्ने त्यो स्पष्ट हुनुपर्छ । स्वास्थ्य सेवालाई एकै ठाउँमा नल्याउने हो भने यसको नतिजा राम्रो आउन सक्दैन ।

मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले अरु क्षेत्रका तुलनामा स्वास्थ्यका विभिन्न सूचकमा उल्लेखीय प्रगति हुनु सुखद् पक्ष भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न चुनौतीका बिचमा पनि स्वास्थ्यका सूचकमा राम्रो सुधार देखिएको छ । यद्यपी अझै पनि दूरदराजमा स्वास्थ्य सेवा पु¥याउन सकिरहेका छैनौँ । स्वास्थ्यकर्मीमा उत्प्रेरणा जगाउन जरुरी छ । एकातिर जनशक्ति पुग्न नसकेको अवस्था छ भने अर्कोतिर जनशक्ति पलायन हुने चुनौती देखिएको छ ।

नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले स्वास्थ्यकर्मीको दरबन्दी समाधान गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) आवश्यक रहेको बताउनुभयो । उहाँले एकीकृत स्वास्थ्य सेवा ऐनमा सबै तहको कर्मचारीको सल्लाह लिएर बनाउनुपर्ने धारणा राख्नुभयो ।

‘सर्वसुलभ स्वास्थ्य सेवाः निरोगी नेपाल हाम्रो प्रतिबद्धता’ नारासहित आज २८औँ स्वास्थ्य सेवा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ