मङ्गलबार, फागुन १३, २०८१

किसानको आय-आर्जन बढाउन बगरखेती प्रवर्द्धन


बनियानी (झापा), १३ फागुनः झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।

युएनडिपी र कचनकवल गाउँपालिकाको लागत साझेदारी २५ बिघा खोला उकास जग्गामा बगरखेती कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो । कार्यक्रमको व्यवस्थापन न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) ले गरिरहेको उहाँले बताउनुभयो ।

विपन्न नागरिकका लागि आयआर्जनको माध्यम सिर्जना गर्नुका साथै भूमिमा उनीहरुको अधिकार सुनिश्चित गर्ने लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने उद्देश्यले पनि हो ।

यो कार्यक्रमका लागि युएनडिपीको रु ८१ लख २५ हजार आठ सय, कचनकवल गाउँपालिका र भूमिगत सिँचाइ आयोजनाको रु एक करोड नौ लाख ३८ हजार गरी कूल रु एक करोड ९० लाख ६३ हजार आठ सय लगानी रहेको छ ।

जग्गामा घेराबार गरी करिब १५ बिघामा नौ हजार वटा सुपारीका बिरुवा रोपिएको एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडालले जानकारी दिनुभयो । गाउँपालिकाले छनोट गरेको लक्षित वर्ग विपन्न, आदिवासी, दलितलगायतका एक सय पाँच परिवारमध्ये ९६ परिवारलाई जग्गा प्रदान गरिएको उहाँले बताउनुभयो । उनीहरुले २० वर्षसम्म सो जग्गा प्रयोग गर्न पाउने छन् । त्यसपछि गाउँपालिकाले सो जग्गाको कसरी प्रयोग गर्ने निर्धारण गर्ने उहाँले बताउनुभयो ।

हामीले सुपारीखेतीलाई प्राथमिकता दिएका छौँ, यसले आयआर्जनसँगै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न मद्दत मिल्ने अपेक्षा छ”, उहाँले भन्नुभयो, “लाभग्राहीले आफ्नो चाहनाअनुसार तरकारी र खरबुजाखेती पनि गरेका छन् ।” खेतीबाट प्राप्त लाभ शतप्रतिशत उनीहरुले नै पाउने उहाँले बताउनुभयो ।

क्षतिग्रस्त भूमिको व्यवस्थापन गरेर भूमिहीनहरुमा भूमिको पहुँच पु¥याउन योजना पनि रहेको उहाँले बताउनुभयो । प्रतिपरिवार एक सयदेखि एकसय ५० सुपारीको बोट जिम्मा लगाइएको बताउँदै उहाँले भन्नुभयो, “त्यसको रेखदेख लाभग्राहीले नै गर्नुपर्छ, प्राप्त प्रतिफल पनि उनीहरुले पाउँछन् ।

करिब ५० बिघामा सिँचाइ क्षमताको भएको डिप बोरिङ समेत निर्माण गरिएको छ भने बिरुवा उत्पादनका लागि हाइटेक प्रविधिको टनेल समेत बनाइएको युएनडिपीका कार्यक्रम अधिकृत सुरज दङ्गालले बताउनुभयो । “टनेलमा एक पटकमा करिब २७ हजार बिरुवा उत्पादन सकिन्छ”, उहाँले भन्नुभयो, “लेयर बनाएर गर्ने हो भने पाँच लेयरमा एक लाख ३५ हजारभन्दा बढी बिरुवा उत्पादन गर्न सकिन्छ ।

बगरखेती कार्यक्रमअन्तर्गत कचनकवल–५ का कुर्वान मियाले चार कट्ठा जग्गा प्राप्त गरेको बताउनुभयो । तरकारी र खरबुजाखेती गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “जग्गा पाएर खुसी छु, पहिला सिँचाइको व्यवस्था थिएन, अहिले सिँचाइ पनि पुगेको छ ।

विपन्न परिवारलाई जग्गा दिए पनि अपनत्व ग्रहण गराउन र उनीहरुलाई बुझाउन समस्या भइरहेको छ । कपितयले दैनिकजसो सुपारी र आफूले लगाएको बालीको नियमित रेखदेख र स्याहारसुसार गरिरहे पनि कतिपयले अझै अपनत्व ग्रहण नगरेको एसएनजेडीका हेमकुमार खड्काले बताउनुभयो ।

कार्यक्रमलाई सफल बनाउन सरोकारवालाले अझै केही वर्ष नियमित सानो–ठूलो सहयोग गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो, “लाभग्राहीले प्रतिफल पाउन नथालेसम्म सहयोग गर्नुपर्ने देखिन्छ ।

गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले युएनडिपी र एसएनजेडीको कार्यक्रम अवधि समाप्त भए पनि गाउँपालिकाले सोको अपनत्व ग्रहण गरेर विपन्न नागरिकका लागि सुरुआत गरेको कार्यक्रममा निरन्तरता दिने बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ