बर्लिन, ११ फागुन (रासस/सिन्ह्वा): जर्मनीको संसदको तल्लो सदन बुन्डेसटागको संरचना तय गर्न आइतबार मतदान भएको छ ।
निर्वाचन यसै वर्ष (सन् २०२५)को सेप्टेम्बरमा हुनुपर्ने भएपनि गत वर्ष सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी), ग्रीन्स र फ्रि डेमोक्र्याटिक पार्टीको वर्तमान सत्तारुढ गठबन्धन भत्किएपछि निर्धारित समयभन्दा अघि नै मध्यावधि निर्वाचनको घोषणा भएको हो ।
पछिल्लो सर्वेक्षणअनुसार क्रिश्चियन डेमोक्र्याटिक युनियन (सीडीयू) र क्रिश्चियन सोसल युनियन (सीएसयू) का भ्रातृ दलले अग्रता लिने देखिएको छ ।
फोर्सा इन्स्टिच्युटले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार सीडीयू र सीएसयूको समर्थनमा २९ प्रतिशत मतदाता रहेको देखिएको छ भने अति दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) को पक्षमा २१ प्रतिशत र चान्सलर ओलाफ स्कोल्जको एसपीडीको समर्थनमा १५ प्रतिशत रहेको छ ।
स्थिर सङ्घीय सरकार गठनका लागि बुन्डेसटागका ६३० सिटमध्ये बहुमत आवश्यक पर्छ । फोर्सा सर्वेक्षणले २२ प्रतिशत उत्तरदाताहरू अझै पनि चुनावको केही समय अघि आफ्नो छनौटको बारेमा अनिश्चित रहेको देखाएको छ।
स्थानीय समय अनुसार आइतबार बिहान ८:०० बजे सुरु भएको मतदान १८:०० बजे सम्पन्न हुने बताइएको छ । कूल २९९ निर्वाचन क्षेत्रमा चारहजार ५०६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् भने कम्तीमा पाँच करोड ९२ लाख मतदाताले मतदान गर्न पाउने सरकारी तथ्याङ्कले देखाएको छ ।