काठमाडौँ, १० फागुनः कांग्रेसमा नेतालाई खुलस्त प्रश्न गर्न पाइने महामन्त्री गगन थापाले बताएका छन् । उनले कांग्रेसमा नेतालाई प्रश्न गरेकै आधारमा निष्कासन नगरिने बताए । सल्यानमा शनिबार आयोजित पार्टीको सभामा थापाले कांग्रेसका नेताहरूलाई खुलस्त प्रश्न गर्न पाइने र पार्टीविरुद्ध आउने अनावश्यक आरोपको कार्यकर्ताले प्रतिवाद गर्नुपर्ने बताए ।
‘पार्टी सभापति, जिल्ला सभापति, मसँग, मेयर, पालिका अध्यक्ष, मन्त्रीसँग रिस उठेको होला । कोठाभित्र मसँग रिस पोख्नुस्, बाहिर पनि पोख्नुस्, कांग्रेसका नेतालाई प्रश्न गर्ने हक छ,’ थापाले भने, ‘हामी कुनै ‘बा’ को पार्टी होइन, जसले प्रश्न गर्नासाथ निकालिदिने । हामी सबै बराबर हैसियत भएको पार्टी हो ।‘
कांग्रेसमा एकअर्काको आलोचना र प्रश्न गर्न पाइने थापाले बताए । ‘तर, तपाईं हाम्रो घर, आस्था, मन्दिर कांग्रेसमाथि अनावश्यक लान्छना लगाउँदै गर्दा पनि नेताको रिसले गर्दा प्रतिवाद गर्न जानुहुन्न भने तपाईंको आस्थामाथि प्रश्न उठ्न सक्छ,’ थापाले भने । थापाले नेताको रिसले पार्टीलाई क्षति हुने कार्य नगर्न कार्यकर्ताहरूलाई आग्रह गरेका थिए ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रश्न गर्ने पार्टीका नेताहरूलाई निष्कासन गरेका थिए । ओलीलाई एमालेमा ‘बा’ भनेर सम्बोधन गर्छन् । ओलीको नाम नलिए पनि थापाले कांग्रेसले लोकतन्त्र र प्रश्नको अधिकार रहेको बताएका हुन् ।
त्यस्तै, महामन्त्री थापाले मुलुकको परराष्ट्र नीतिका लागि पार्टीले पहलकदमी लिनुपर्ने बेला आएको बताए । सरकारमा रहेको एमालेसँग मात्रै नभई सरकार बाहिर रहेका दलहरूसँग पनि सल्लाह गरेर परराष्ट्र नीतिका लागि परराष्ट्र नीति तय गरिने उनको भनाइ थियो ।
नेपालमा बहसको केन्द्रमा समस्या रहँदै आएकामा अब त्यसलाई परिवर्तन गरी समाधानको बहल चलाउनुपर्ने थापाले बताए ।
कांग्रेसका जिल्ला समितिले सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको कार्य आगामी चैतभित्र सक्नुपर्ने थापाको निर्देशन थियो । उनले कांग्रेस महाधिवशेनबारे नेताहरूले भ्रम फैलाइरहेको पनि बताए । ‘कांग्रेस महाधिवेशन समयमा हुँदैन, २०८४ को निर्वाचनपछि हुन्छ, खबरदारी गर्नुपर्यो भनेर नेताहरूले भनिरहेका छन् । ठूला, साना नेतालाई आग्रह गर्छु- अनावश्यक भ्रम सिर्जना नगर्नुस्,’ उनले भने ।
कांग्रेस महाधिवेशन २०८४ को निर्वाचनपछि गर्नका लागि संविधान, कानुन र पार्टी विधानले नदिने भएकाले त्यसअघि नै हुने थापाले स्पष्ट पारे ।