मोरङ, ९ फागुनः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकका सम्पूर्ण जातजातिलाई एकआपसमा जोड्ने जिम्मेवार पार्टीका रूपमा कांग्रेस रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज विराटनगरमा आयोजित ‘राष्ट्र निर्माणमा युवाको योगदान तथा तथ्यमा आधारित प्रचार अभियान’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सबै जातिको पहिचान र मान-सम्मानलाई कायम राख्ने मुलुकको ठूलो तथा राष्ट्रिय पार्टी कांग्रेस रहेको प्रष्ट पार्नुभयो ।
महामन्त्री थापाले मुलुकमा देखिएका विभिन्न समस्याको उत्तेजना र क्षणिक लाभबाट मुक्त रही उपयुक्त समाधान निकाल्न कांग्रेसले विगतदेखि वर्तमानसम्म जिम्मेवारी वहन गरेको विचार राख्नुभयो । आगामी २०८४ सालको निर्वाचनमा जाँदा कार्यकर्ताले विगत तीन वर्षमा गरेको कामको उपलब्धि लिएर जनतासमक्ष जान उहाँले आग्रह गर्नुभयो ।
उहाँले कांग्रेसको नेतृत्वमा रहेको सरकारले विसं २०४८ देखि २०५१ सम्ममा घाटामा रहेका सरकारी उद्योगको निजीकरण गरी मुलुकमा आर्थिक चलायमानका गतिविधि हासिल गरेको दाबी गर्नुभयो । महामन्त्री थापाले भन्नुभयो, “पार्टीमा रहेका व्यक्तिले भ्रष्टाचार गरेमा त्यसको दण्ड, सजायको जिम्मेवारी स्वयं हुनेछन् ।”
सहमहामन्त्री भीष्मराज आङ्गदम्बेले पाथीभरामा देखिएको समस्या समाधानका लागि मन्त्रीस्तरीय वार्ता टोली गठन गर्न आग्रह गर्दै वार्ता अवधिसम्म निर्माण स्थगित गर्नुपर्ने सुझाव दिनुभयो ।
पूर्वमुख्यमन्त्री उद्धव थापाले कांग्रेसले ल्याएको स्वास्थ्य बिमाजस्ता समाज केन्द्रित कार्यक्रमको प्रचारप्रसार गर्नुपर्ने सुझाव दिनुभयो । विभागका अध्यक्ष मीन विश्वकर्माले कार्यकर्ता अध्ययनशील भई प्रविधिको प्रयोगमार्फत पार्टीप्रति हुने भ्रम सृजनाको अवस्था अत्य गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम संयोजक तेजराज रेग्मी, केन्द्रीय सदस्य भीम पराजुली, राजीव ढुङ्गाना, तारामान गरुङ, लक्ष्मी परियार, अमृत अर्याल, नैनसिंह महरलगायतले युवा सीप र प्रविधिमा दक्ष भई मुलुकको समृद्धिमा योगदान पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बाह्रखरी अनलाइनका प्रधानसम्पादक हरिबहादुर थापा र रत्नराज्य क्याम्पस पत्रकारिता विभागका प्रमुख जगत नेपालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रदेशका १४ जिल्लाका जिल्ला सभापति, नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो ।