९ फागुन, काठमाडौं : टेक अर्बपति इलन मस्कको एआई कम्पनी एक्सएआईले यसै साता सार्वजनिक गरेको ‘ग्रोक-थ्री’ भर्सन अहिले चर्चामा छ । यसले ओपेनएआईको जीपीटी-फोर ओ र डिपसिक भीथ्रीजस्ता लार्ज ल्यांग्वेज मोडल (एलएलएम) हरूलाई टक्कर दिने लक्ष्य राखेको छ । ग्रोक-थ्रीले उन्नत तार्कित क्षमता र इमेज एनालिसिस गर्न सक्ने भएकाले यसलाई एआई क्षेत्रमा शक्तिशाली प्रतिस्पर्धीका रूपमा हेरिएको छ । इलनले पनि आफ्नो एआई च्याटबट अन्यभन्दा उत्कृष्ट रहेको दाबी गरेका छन् ।
एक्स एआईले जारी गरेको ब्लग पोस्टअनुसार ग्रोक-थ्रीमा ‘थिंक’ र ‘ग्रोक थ्री मिनी’ नामक दुई मोडल उपलब्ध छन् । थिंक मोडलले जटिल प्रश्नहरूको ‘स्टेप-बाइ-स्टेप’ समाधान दिने र ग्रोक थ्री मिनिलाई कठिन समस्याहरू समाधान गर्न डिजाइन गरिएको छ । प्रारम्भिक मूल्याङ्कनहरू अनुसार ग्रोक-थ्रीले यसको अघिल्लो संस्करणभन्दा राम्रो रिजल्ट दिने र अन्य ठूला एआई मोडेलहरूसँग प्रतिस्पर्धा गर्न सक्षम देखिएको विश्लेषण गरिएको छ ।
एक्सएआईले पनि मानिसहरूसँग स्वाभाविक र रमाइलो संवादका लागि ग्रोक-थ्री निर्माण गरिएको दाबी गरेको छ । कथा लेख्ने, अनुसन्धान गर्ने, प्रश्नहरूको जवाफ दिने वा कोडिङ गर्ने बाहेक यस प्रविधिमा ‘विद्रोही आयाम’ पनि समावेश छ जसले गर्दा अन्य एआई प्रविधिले अक्सर पन्छाउने ‘मसालेदार’ विषयहरूमा समेत यसले प्रतिक्रिया दिने कम्पनीले उल्लेख गरेको छ ।
एक्सएआईले ग्रोक-थ्रीसँगै ‘डिप सर्च’ नामक नयाँ सर्च इञ्जिन पनि सार्वजनिक गरेको छ । यसले एआईको निर्णय प्रक्रियालाई अझ पारदर्शी बनाउने उद्देश्य राखेको छ । ग्रोक-थ्री प्रयोग गर्न सामाजिक सञ्जाल प्लाटफर्म एक्सको सदस्यता लिनुपर्नेछ । यसको शुल्क ४० डलर प्रतिमहिना तोकिएको छ ।
ग्रोक थ्री मोडलका लागि आवश्यक कम्प्युटिङ पावर आपूर्ति गर्न एक्सएआईले एटलान्टामा विशाल डाटा सेन्टर निर्माण गरिरहेको जनाएको छ । यसमा झन्डै १२ हजार ४ सय ४८ वटा एनभिडियाको जीपीयू जडान गरिने भनिएको छ । यो पूर्वाधार लगानीले एक्सएआईलाई एआई प्रविधिमा दरिलो प्रतिस्पर्धी बन्न सहयोग गर्ने अनुमान गरिएको छ ।