सुर्खेत, ७ फागुन : प्रमुख प्रतिपक्षी माओवादीकी सांसद रेखा शर्माले सामाजिक सञ्जाललाई नियन्त्रणमुखी बनाउने कुरामा आफ्नो समर्थन नहुने बताएकी छन् । ‘सामाजिक सञ्जाल नियमनमात्र हुनुपर्छ, नियन्त्रण स्वीकार्य छैन, आवश्यक परे विधेयकलाई पुनर्लेखन गर्नुपर्छ,’ उनले भनिन्, ‘सामाजिक सञ्जाल नियमन विधेयक हुबहु पारित हुँदैन ।’
बुधबार वीरेन्द्रनगरमा सञ्चालित कर्णाली उत्सवमा कांग्रेस नेता भीष्मराज आङ्दम्बेले पनि सामाजिक सञ्जाल नियमन विधेयक छलफल भएरमात्र पारित हुने बताए । राजनीतिमा रहरले आउने कि लहडले ? पत्रकार सुधीर शर्माको प्रश्नमा नेताहरुको जवाफ थियो, ‘राजनीतिमा आउनुमा कुनै खास परिस्थिति कारक हुन्छ, रहर, लहडले भन्दा पनि आत्मबोधले काम गरेको हुन्छ । रहर गर्नु पनि गल्ती होइन । राजनीतिमा टिकाइराख्न सक्नु व्यक्तिमा भर पर्छ ।’
यस्तै एमाले नेता योगेश भट्टराईले लोकतन्त्रको उपलब्धि भनेकै स्वतन्त्रता भएकाले यसको अर्को विकल्प नभएको बताए । ‘हिजो कर्णालीले आलोचना गर्न जान्दैन्थ्यो, आज मजाले आलोचना गर्न सक्छ, यो व्यवस्था त लोकतन्त्रले ल्याएको हो नि, यसको श्रेय त बहुदलीय व्यवस्थालाई जान्छ,’ उनले भने ।
सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन विधेयकका विषयमा सबै दलबीच राष्ट्रिय सहमति जुटेको उनले दाबी गरे । ‘अहिले समाजमा जुन खालको भ्रम छ, त्यो अनुसारको व्यवस्था विधेयकमा छैन । आजको सरकारले आफ्नो मत राख्ने कुनै पनि स्वतन्त्रता खाँदैन, यो विधेयक जस्ताको तस्तै पास हुन्छ भन्ने पनि छैन, नचाहिँदो कानुन संसद्ले बनाउँदैन,’ सांसद भट्टराईले भने, ‘हामी सांसदहरुले पनि आफ्नो विवेक प्रयोग गर्छौं ।’