शनिबार, फागुन १०, २०८१

विभिन्न जातजातिका कला, संस्कृति प्रदर्शन र संरक्षण गर्न दमौलीमा सांस्कृतिक महोत्सव सुरु


दमौली (तनहुँ), ७ फागुनः यहाँको व्यास नगरपालिकामा विभिन्न जातजातिका कला, संस्कृति प्रदर्शन र संरक्षण गर्न आजदेखि तीन दिने सांस्कृतिक महोत्सव सुरु भएको छ ।

व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा व्यास नगरपालिका–३ खुल्ला मैदानमा सुरु भएको सांस्कृतिक महोत्सव शुक्रबारसम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले तनहुँ कला, संस्कृतिले धनी जिल्ला भएकाले मौलिक संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश सरकारले विभिन्न जातजातिका कला, संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेको बताउँदै कला र संस्कृतिलाई आम्दानीसँग जोड्न आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्लेले नेपालको पहिचान संस्कृति र प्रकृति भएको बताउँदै यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला सचिव प्रदीपराज अधिकारीले नगरभित्रका मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यसहित आयोजित कार्यक्रम सराहनीय रहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति विश्व बाँस्तोलाले भाषा, संस्कृति लोप हुन दिन नहुने उल्लेख गर्नुभयो । पछिल्लो समय कला, संस्कृति लोपहुँदै गएकाले त्यसको संरक्षण गर्दै अहिलेका पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यसहित कला संस्कृतिको संरक्षण गर्न पहल गरिएको प्रज्ञा प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेतले जानकारी दिनुभयो ।

नगर प्रमुख एवं व्यास नगर प्रज्ञा प्रतिष्ठानका कुलपति वैकुण्ठ न्यौपानेले नगरभित्रका अधिकांश समुदायका कला, संस्कार, संस्कृति, इतिहास, पुरातात्विक क्षेत्र लोपोन्मुख भएकाले संरक्षण गर्न महोत्सव गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश जातजातिका भाषा, धर्म, संस्कार, संस्कृति, कला लोपोन्मुख अवस्था पुगेका छन्, यसलाई संरक्षण गर्ने दायित्व नगरपालिका हो ।

महोत्सवमा विभिन्न जातजातिका बालन नाच, भजन, चुड्का, कौराहा, सोरठी, स्वराही, पाउदुरे, शङ्खध्वनि, झ्याउरे, घाँटु नाचका साथै मूर्ति, चित्रकलालगायतको प्रदर्शनी गरिएको छ ।

कार्यक्रममा सहभागी सबै जातीय समूहलाई नगद रु दश हजारका दरले सहयोग प्रदान गरिने जनाइएको छ । झाँकीमा सहभागीमध्येबाट प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु दश हजार, सात हजार र पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ