कटारी (उदयपुर), ७ फागुनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रको स्वाभिमान नेपाली जनताले संरक्षण गरेका बताउनुभएको छ ।
आज प्रजातन्त्र दिवसको अवसरमा उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा प्रजातान्त्रिक योद्धा स्व नारदमुनि थुलुङको पूर्णकदको शालिक अनावरण गर्दै उहाँले जनताको योगदानबाट राष्ट्रको स्वाभिमान संरक्षण भएको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले एक सय १६ वर्ष अगाडि जन्मिनुभएका थुलुङले तत्कालीन भारतीय सेनाको जागीर छोडेर नेपाल क्रान्तिमा होमिएको इतिहास स्मरण गर्नुभयो । “उहाँले प्रजातन्त्र प्राप्तिका लागि दिनुभएको योगदानको कदर गर्नुपर्छ”, उहाँले भन्नुभयो, “शिक्षा, समाजसेवा र स्थानीयलाई बसोबासको व्यवस्था गर्नुभएको थियो ।”
बसाहामा नारदमुनि थुलङ स्मृृतिसभा हल निर्माण, संस्कृतिको संरक्षण गर्ने प्रतिबद्धता पनि मुख्यमन्त्री कार्कीले जनाउनुभयो । प्रदेश नामकरणको सवालमा आएका गुनासो जायज भए पनि त्यसको समाधान कानुन र संविधानमा निर्दिष्ट रहेर गर्नुपर्ने उहाँको भनाइ थियो ।
प्रदेशको समृद्धिका लागि सरकारले, फिदिम फाल्गुनन्द, सूर्याेदय, तेह्रथुम सङ्खुवासभा, मुन्धुम ट्रेलजस्ता पदयात्राको विकास गरिरहेको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो । कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले थुलुङको योगदानको जति सम्मान गरे पनि कम हुने बताउनुभयो ।